स्याङ्जामा बैंकको सुरक्षा गार्डलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

बैंकको सुरक्षा गार्डलाई चक्कु प्रहार गरेको आरोपमा स्याङ्जाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको विरुवा गाउँपालिका–१ बस्ने ३० वर्षका महेन्द्रनारायण श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए।

पक्राउ परेका श्रेष्ठले विरुवा– १ स्थित गरिमा विकास बैंक लिमिटेडको सुरक्षा गार्डलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। मंगलबार बिहान बैंकमा गएका श्रेष्ठले गार्डको शरिरका विभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाएर फरार भएका थिए।

गार्डलाई चक्कु प्रहार गरेको सूचनापछि प्रहरी चौकी विरुवा अर्चलेबाट खटिएको प्रहरी टोलीले बुधबार श्रेष्ठलाई विरुवा बजारबाट नियन्त्रणमा लिएको चौधरीले जानकारी दिए। श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालतबाट बुधबार सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार