सल्यानका राजनीतिक दल, उम्मेदवार, पत्रकार, कर्मचारीलगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन्। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने सबै पक्षले प्रतिबद्धता जनाएका छन्।
बैठकमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्लले प्रतिबद्धता जनाए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय/सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो।
नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताए। आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारकर्मी र पत्रकार प्रतिबद्ध भएको बताए। उनले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए। निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उनको भनाइ छ। तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ सापकोटाले बताए।
मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताए। कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले निर्वाचन आचारसंहिता २०८२ का विषयमा प्रस्तुतीकरण राखेका थिए। उनले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको स्मरण गराए।