क्यान्सरको तेस्रो चरणबाट निको भएकी कविता चित्रकार बैतडीको झुलाघाट पुग्दा भावुक मुद्रामा देखिन्थिन्। मध्यपहाडी लोकमार्गमा झन्डै एक हजार आठ सय किलोमिटर साइकल यात्रा पूरा गरेर कविताले क्यान्सरमाथि विजयको छोटो कथा सुनाइन्।
आफ्नो आमा र दिदी पनि क्यान्सरपीडित रहेको बताउने कविताले बाँकी जीवन प्राणघातक रोग क्यान्सरविरुद्धको अभियानमा समर्पण गर्ने बताइन्। ‘मलाई क्यान्सर हुँदा जिन्दगी सकियो जस्तो लागेको थियो। क्यान्सरपछि डिप्रेसन भएको थियो,’ पाँचथरको चिवाभञ्ज्याङबाट २७ दिन साइकल चलाएर झुलाघाट पुगेकी कविताले भावुक हुँदै भनिन्, ‘मनमा सधैँ नकारात्मक सोचाइ मात्र आउँथ्यो। अहिले नयाँ जीवन पाएँ, अब यही क्षेत्रमा काम गर्छु।’
क्यान्सरपीडितहरूलाई ‘आफूले आफूलाई माया’ गर्दै हरेश नखान उनले सन्देश दिइन्। ‘यात्रामा धेरै दिदीबहिनीहरूले सम्पर्क गरेका छन्, आफूले आफूलाई माया गर्नुहोस्, हार नमान्नुहोस् भन्न चाहन्छु,’ उनले भनिन्।
क्यान्सर प्रभावित विपन्न नागरिकहरूको उपचारमा सहयोग जुटाउने उद्देश्यले पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साइकलयात्रा बैतडी झुलाघाट पुगेर समापन भएको हो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस ९ गतेबाट सुरु भएको अभियान मंगलबार नेपाल–भारत सीमानाका झुलाघाट पुगेको थियो।
अभियानका क्रममा एक हजार ७७८ किलोमिटर लम्बाइको मध्यपहाडी लोकमार्गमा साइक्लिङसँगै क्यान्सरविरुद्धको जनचेतनामूलक कार्यक्रमहरू गरिएको अभियन्ता डा. सुमन ताम्राकारले बताए।
क्यान्सर विजेता हर्क लामासहित १४ साइकलयात्रीको नेतृत्व धुलिखेल अस्पतालका प्राध्यापक डा. ताम्राकारले गरेका थिए। अभियानको समापनका क्रममा लामाले केही रकम संकलन गरेर आफूजस्तै क्यान्सरका बिरामीलाई सहयोग गर्ने बताए। ‘बिरामी हुँदाको मेरो अनुभवले यो काम गर्न प्रेरणा दिएको हो,’ उनले भने, ‘मैले धुलिखेल अस्पतालमा क्यान्सरको उपचार गरेँ। तङ्ग्रिँदै गएपछि २०२५ मा अभियानको तयारी गरेर २०२६ जनवरी १ बाट सुरु गरियो।’
यात्राका क्रममा सोचेजस्तै रकम प्राप्त भएको र जति संकलन भएको छ, त्यति नै धुलिखेल अस्पतालले थपिदिने लामाले बताए।
अभियन्ताहरूले यो साइकलयात्रालाई नेपालकै कठिन र सबैभन्दा लामो दूरीको बताएका छन्। कहिले ५०–६० जनासम्मले एकसाथ साइक्लिङ गरेको र कहिलेकाहीँ १४ जनाको टोली रहेको साइकलयात्री चित्रकारले बताइन्। यात्रामा डा. विकास पराजुली, भाइराजा महर्जन, उषा खनाललगायत सहभागी थिए।
यात्रा समापनका क्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायत सुरक्षा निकायका प्रमुखहरू झुलाघाट पुगेका थिए। प्रहरी प्रमुख दीपक रायले आफ्नो दिदी क्यान्सरबाट गुमाएको बताउँदै बिरामीहरूका लागि सबैभन्दा ठुलो जनचेतना रहेको उल्लेख गरे।
अभियानलाई प्रजिअ पौडेललगायतले १५ हजार रुपैयाँ सहयोग प्रदान गरे। आयोजकहरूले अभियानका क्रममा ५० देखि ६० लाखको कोष बन्ने बताएका छन्। यात्राबाट संकलित रकमलाई आगामी फेब्रुअरी ४ विश्व क्यान्सर दिवसका दिन धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने बताइएको छ।