‘इलेक्सन इपिसेन्टर’ झापा ५ : बालेनविनै रास्वपा घरदैलो अभियानमा, टोलसम्म चुनावी समिति बनाउँदै एमाले
इलेक्सन इपिसेन्टरको रूपमा रहेको झापा ५ मा चुनावी प्रचार सुरु भएको छ । दुई प्रधानमन्त्रीका फेस एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी मैदामा आएपछि नेताहरू मतदाता फकाउन व्यस्त छन् ।
एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह अहिले झापा ५ मा छैनन् । ओली घोषणापत्र लेख्न काठमाडौंमा छन् भने बालेन देश दौडाहामा छन् । यीबाहेक २२ जना उम्मेदवार रहेको झापा ५ मा केही उम्मेदवार निष्क्रिय छन् भने केही दलका उम्मेदवार चुनावी रणनीति बनाउन व्यस्त छन् । दुई मुख्य प्रतिस्पर्धी दल एमाले र रास्वपा पनि चुनावी प्रचारमा लागेका छन् । दुवै दलले सामाजिक सञ्जाललाई पूर्ण रूपमा प्रयोग गरिरहेका छन् । रास्वपाले भने सोमबारबाट बालेनविनै घरदैलो अभियान सुरु गरेको छ ।
रास्वपासँगको एकताबारे कुलमान : १२ दिनको कोमाले धेरै घाटा भयो
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका कारण पार्टीले धेरै घाटा व्यहोरेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा घिसिङले रास्वपाको नाम नलिई पार्टी गठनको तीन महिनामा १२ दिन पार्टी कोमामा पुगेको टिप्पणी गरेका हुन्।
‘पार्टी गठन भएको तीन महिना पनि पुगेको छैन। बिचमा हामी १२ दिनको कोमामा गयौँ। १२ दिनको कोमाका कारण हामीलाई धेरै घाटा पनि भयो। तर, त्यो कोमाबाट तन्दुरुस्त भएर आएका छौँ। अब उज्यालो नेपाल पार्टी देशको नेतृत्व गर्न अगाडि बढ्छ,’ उनले भने।
रास्वपा र उज्यालो नेपालबिच १४ पुसमा भएको एकीकरणसम्बन्धी सातबुँदे सहमति २६ पुसमा भाँडिएको थियो। त्यसपछि घिसिङ उज्यालो नेपालबाटै काठमाडौं ३ मा उम्मेदवार बनेका छन्।
शवगृहबाट शव अदलबदल प्रकरण छानबिन समिति गठन, अस्पताल प्रमुखसहित कर्मचारीको जिम्मेवारी खोसियो
सिराहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शवगृहमा पोष्टमार्टमका लागि राखिएको किशोरीको शव अदलबदल प्रकरणमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव बेदनिधि खनालाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक सुिनल चौरसिया, सिरहा प्रादेशिक अस्पतालका चिकित्सक डा. अरुण मण्डल सदस्य छन् । त्यस्तै, छानबिन समितिमा सदस्यको रुपमा गोलबजार नगरपालिका ३ जमदहका वडाध्यक्ष धनप्रसाद लामा र मृतक किशोरी निशा बानियाकी काका तिलकबहादुर बानिया समेत राखिएका छन् ।
गोलबजारस्थित इलाका प्रहरी कार्यालयमा सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनपद र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, मृतक परिवारका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय अगुवाहरुको छलफलले छानबिन समिति गठन गरेको हो । छलफलमा प्रजिअले प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्षलाई छानबिनमा सहयोग गर्न अस्पतालका प्रमुखलाई जिम्मेबारी बहन गर्न नपाउने गरी विदामा रहन र शवगृहको जिम्मेबारीमा रहेका कर्मचारीलाई तत्काल उक्त जिम्मेबारीबाट हटाउने निर्देशन दिए बमोजिम निर्णय गरिएको वडाध्यक्ष लामाले बताए ।
कोरियाको रोजगारी खोज्दै १० दिनदेखि धर्नामा युवा
भाषा परीक्षा उत्तीर्ण गरेको दुईवर्षे म्याद सकिन लाग्दासमेत कोरियाको रोजगारी अनिश्चित भएपछि युवाहरू फेरि आन्दोलित भएका छन् । यही जनवरीमा ८५३ र फेब्रुअरीमा थप तीन हजार ७९६ युवाको भाषा परीक्षाको म्याद सकिन लागेको छ। भाषा परीक्षा उत्तीर्ण भएका सबै युवाहरू कोरिया जान पाउनुपर्ने माग राखेर इपिएस शाखा, ग्वार्कोमा धर्ना दिँदै आएका छन् ।
सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौं महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरूका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रूपमा उपयोग भएको छ ।
समयसमयमा सार्वजनिक कार्यक्रम पनि हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।
६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्नका लागि दुई करोड ७० लाख रुपैयाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई ०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ।
सार्वजनिक निर्माण विभागका वरिष्ठ इन्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इन्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराइ र १.२ मिटर व्यासका आठवटा अकासेपानी संकलन पिट हुनेछन् ।
स्टन्ट गर्नेहरूमाथि विदेशी शक्तिको ठुलो लगानी छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्टन्ट गरेर ‘पपुलर’ भएकाहरुमाथि विदेशी शक्तिले लगानी गरेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। विचार, सिद्धान्त र त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने भन्दा स्टन्ट गरेर पपुलर बन्ने होड चलेको उनको भनाइ छ।
‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा समाज निर्माणका निम्ति भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनविरुद्ध आर्थिक विकासका निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेकै भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी विदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाइँ हामीले देखेका छौँ,’ उनले भने।
टेरामक्स भ्रष्टाचार प्रकरणः विशेष अदालतद्वारा विज्ञसमूह गठन, खरिदसम्बन्धी सक्कल फाइल झिकाउने आदेश
टेरामक्स भ्रष्टाचारसम्बन्धी मुद्दामा बिशेष अदालतले गुणस्तर र मापदण्डको परीक्षणका लागि विज्ञ समूह गठन गर्ने तथा अन्य प्रमाण झिकाउने आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाई गर्दै बिशेषले दुई प्रकारका कागजात झिकाउने र विज्ञ समूह गठनको आदेश दिएको हो ।
बिशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले १२ पुस २०८० मा संसदको सार्वजनिक लेखा समितिले नेपाल दूर सञ्चार प्राधिकरणलाई आरोप दाबीको खरिद कार्यलाई यथास्थितीमा राख्नु भनी दिएको निर्देशन झिकाउने आदेश दिएको हो।
चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, यातायात प्रमुख र ट्राफिक प्रहरीको मोबाइल जफत
उपत्यकाका केही यातायात व्यवस्था कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। लाइसेन्सको परीक्षामा अनुत्तीर्णहरुलाई पास गराएर पैसा लेनेदन गरेको सूचनाका आधारमा आयोगले मंगलबार चाबहिलस्थित कार्यालयमा छापा हानेको हो। त्यहाँका कार्यालय प्रमुख पेशल कुमार पोखरेलसहित १७ कर्मचारीको २५ वटा मोबाइल आयोगले जफत गरेको छ।
त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका असई डोरहरी नेपालसहित तीन जनाको मोबाइल पनि आयोगले नियन्त्रणमा लिएको छ। नेपाल ड्राइभिङ एण्ड रिकण्डिसन सेन्टरका सञ्चालक बालकृष्ण सिंहसँग मिलेर सेटिङ हुने गरेको सूचनाका आधारमा आयोगले छापा हानेको हो। सिंहसहित उनका कार्यालयका अन्य नौ जनाको मोबाइल पनि आयोगले जफत गरेको छ। त्यस्तै, लिखित परीक्षा फेल भएको तीन महिना नपुग्दै पुन परीक्षामा सहभागी भएका परिक्षार्थीको उत्तरपुस्तिका लगायत कागजात पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
दादुरा सङ्क्रमित क्षेत्रका तीन हजार ५४५ बालबालिकालाई खोप लगाइयो, ८ हजारलाई खोप दिइने
सर्लाहीको मलङ्गवामा दादुरा संक्रमित फेला परेपछि दादुरारुबेला बिरुद्धको विषेश खोप अभियान सुरु भएको छ । जिल्लाको मलङ्गवा नगरपालिका–३, मा २३ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो ।
दादुरा संक्रमण पुष्टि भएको मलङ्गवा नगरपालिका–३, सहित छिमेकी ५ वटा वडामा समेत खोप अभियान सुरु गरेको मलङ्गवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए । प्रमुख साहका अनुसार अहिले सम्म ३ हजार ५४५ जना बालबालिकालाई दादुरारुबेला बिरुद्धको खोप लगाइएको छ ।
२४ पुसमा मलङ्गवा नगरपालिका–३, मुस्लिम टोलका एक ५ वर्षका बालकमा दादुरा रोगको संक्रमण देखिएको थियो । दादुरा सँग मिल्दोजुल्दो संक्रमण देखिएका बालकको ल्याव परीक्षणको क्रममा दादुरा संक्रमण पुष्टि भएपछि अन्य विमारीको खोजी र परीक्षण सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख डाक्टर नवलकिशोर झाको भनाई छ । त्यस पछि थप २३ जनामा दादुरा संक्रमण पुष्टि भएको उनको भनाई छ ।
रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत
केही दिनयता सार्वजनिक कार्यक्रममा नदेखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको उनका स्वकीय सचिवले जानकारी दिएका छन्। देव्रे खुट्टामा लागेको चोट बढेर संक्रमण भएकाले उनी अस्पतालमा भर्ना भएर उपचाररत रहेको उनका स्वकीय सचिव अविनाश आचार्यद्वारा सूचनामा उल्लेख छ।
पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने आचार्यले जानकारी दिए ।