चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, यातायात प्रमुख र ट्राफिक प्रहरीको मोबाइल जफत

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

उपत्यकाका केही यातायात व्यवस्था कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। लाइसेन्सको परीक्षामा अनुत्तीर्णहरुलाई पास गराएर पैसा लेनेदन गरेको सूचनाका आधारमा आयोगले मंगलबार चाबहिलस्थित कार्यालयमा छापा हानेको हो। त्यहाँका कार्यालय प्रमुख पेशल कुमार पोखरेलसहित १७ कर्मचारीको २५ वटा मोबाइल आयोगले जफत गरेको छ। 

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका असई डोरहरी नेपालसहित तीन जनाको मोबाइल पनि आयोगले नियन्त्रणमा लिएको छ। नेपाल ड्राइभिङ एण्ड रिकण्डिसन सेन्टरका सञ्चालक बालकृष्ण सिंहसँग मिलेर सेटिङ हुने गरेको सूचनाका आधारमा आयोगले छापा हानेको हो। सिंहसहित उनका कार्यालयका अन्य नौ जनाको मोबाइल पनि आयोगले जफत गरेको छ। त्यस्तै, लिखित परीक्षा फेल भएको तीन महिना नपुग्दै पुन परीक्षामा सहभागी भएका परिक्षार्थीको उत्तरपुस्तिका लगायत कागजात पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। 

५ देखि १५ हजार रुपैयाँ लेनदेनमा परिक्षामा अनुत्तीर्ण भएकालाई पास गराउने र फेल भएको तीन महिना अवधि नपुगी पुनः परिक्षामा सहभागी गराउने गरेको प्रमाण संकलन गरेपछि आयोगको टोली मंगलबार  पुगेर कर्मचारीको मोबाइल जफत गरेको हो। 

सुझावित समाचार