इलेक्सन इपिसेन्टरको रूपमा रहेको झापा ५ मा चुनावी प्रचार सुरु भएको छ । दुई प्रधानमन्त्रीका फेस एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी मैदामा आएपछि नेताहरू मतदाता फकाउन व्यस्त छन् ।
एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह अहिले झापा ५ मा छैनन् । ओली घोषणापत्र लेख्न काठमाडौंमा छन् भने बालेन देश दौडाहामा छन् । यीबाहेक २२ जना उम्मेदवार रहेको झापा ५ मा केही उम्मेदवार निष्क्रिय छन् भने केही दलका उम्मेदवार चुनावी रणनीति बनाउन व्यस्त छन् । दुई मुख्य प्रतिस्पर्धी दल एमाले र रास्वपा पनि चुनावी प्रचारमा लागेका छन् । दुवै दलले सामाजिक सञ्जाललाई पूर्ण रूपमा प्रयोग गरिरहेका छन् । रास्वपाले भने सोमबारबाट बालेनविनै घरदैलो अभियान सुरु गरेको छ ।
सोमबार दमक नगरपालिका– ९ र कमल गाउँपालिका– ५ का बस्तीमा पुगेर रास्वपाको टिमले घरदैलो अभियान चलाएको हो । यस्तै, रास्वपाले मंगलबार झापा ५ अन्तर्गतको गौराहद र गौरीगञ्ज क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेको छ । उक्त घरदैलो अभियानमा बालेनपत्नी सविना काफ्ले पनि सहभागी भएकी थिइन् । राजनीतिक कार्यक्रममा कमै सहभागी हुने सविना दमकमा भएको घरदैलोमा भने आफैँ सहभागी भएकी हुन् । पश्चिम नेपालको भ्रमण सकेर बालेन पनि झापा आएर घरदैलो अभियानमा सहभागी हुने उनका सचिवालय सदस्य सुरेन्द्र बजगाईंले जानकारी दिए । ‘उहाँ केही दिनमा आएर घरदैलो अभियानमा सहभागी हुनुहुनेछ,’ उनले भने, ‘अहिले पार्टीको स्थानीय समिति, समानुपातिक उम्मेदवार र प्रचार विभागका साथीहरू घरदैलो कार्यक्रममा सहभागी हुनुभएको छ ।’
मनोनयनको भोलिपल्ट अर्थात् ७ माघमा दिनभर कार्यकर्ता भेटघाट गरेर पूर्वीपहाडी जिल्लाको भ्रमण सकेर बालेन पश्चिम नेपालतर्फ लागेका हुन् । प्रधानमन्त्रीको उम्मेदवार भएका कारण देशका विभिन्न ठाउँमा जाने उनको सचिवालयले जनाएको छ ।
रास्वपाले घरदैलो अभियान सञ्चालन गर्दै गर्दा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली उम्मेदवार भएको दल नेकपा एमाले भने आन्तरिक मिटिङ र बैठकमा व्यस्त छ । ९ माघसम्म झापा ५ का उम्मेदवार तथा एमाले अध्यक्ष ओलीले पार्टी कार्यकर्तालाई भेटघाट गरेर काठमाडौं फर्किएका छन् । त्यसपछि क्षेत्र, नगर, वडासम्म चुनावी प्रचारप्रसार समिति निर्माण गरिएको नेकपा एमाले निर्वाचन परिचालन समिति झापा ५ का संयोजक देवेन्द्र दाहालले जानकारी दिए । ‘ग्रासरुढसम्म कमिटी बनाइरहेका छौँ । अब चाँडै नै टोलस्तरको समिति गठन गरेर सक्छौँ । त्यसपछि हामी जनताको घरसम्म मत माग्न सुरु गर्छौँ,’ उनले भने, ‘अरूको जस्तो धेरै घरदैलो गर्नुपर्दैन । केपी शर्मा ओलीलाई नचिन्ने कोही छैन । तर, केही दिनमा घरदैलो पनि गर्छौँ । हामी किसान, मजदुर, युवालगायत सबैसम्म पुग्ने गरी संयन्त्र बनाइरहेका छौँ । अहिले सामाजिक सञ्जालमार्फत पनि प्रचार गरिरहेका छौँ ।’ पार्टीको घोषणापत्र तयार गर्न काठमाडौं गएका ओली केही दिनमा झापा आउने दाहालले बताए ।
यस्तै, झापा ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङले पनि भेटघाट र पार्टीको आन्तरिक बैठक गरिरहेका छन् । बुधबारबाट घरदैलो अभियान सञ्चालन गरिने तामाङले जानकारी दिए । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमाेरिया पनि पार्टीको आन्तरिक बैठक तथा छलफलमा व्यस्त छिन् ।
चिमाेरियाले ४ फागुनपछि मात्र घरदैलो अभियान सुरु गर्ने कांग्रेसको सामाजिक सञ्जाल, सूचना तथा सञ्चार विभाग झापा ५ संयोजक पर्शुराम रिजालले जानकारी दिए । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ५ मा २५ जना उम्मेदवार छन् । यो निर्वाचनका लागि झापा ५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका हुन् ।