विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै राष्ट्रिय झण्डा सम्मान अभियान नेपालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
अभियानका संयोजक गोविन्द पौडेलको नेतृत्वमा गएको टोलीले मंगलबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो। अभियानले पछिल्लो समय निर्वाचन अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग अत्यधिक र अव्यवस्थित रूपमा बढ्दै गएको जनाएको छ।
संयोजक पौडेलका अनुसार राष्ट्रिय झण्डा राष्ट्रको पहिचान र गौरवको प्रतीक भए पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहिताविपरीत प्रचार सामग्रीका रूपमा प्रयोग गरेको देखिएको छ। निर्वाचन आचारसंहिता २०८२ अनुसार कुनै पनि दल वा उम्मेदवारले बढीमा १० वटासम्म मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने र त्यसबाहेक प्रचारप्रसारका अन्य सामग्रीमा यसको प्रयोग गर्न नपाइने व्यवस्था छ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले राष्ट्रिय झण्डाको प्रयोग सही तरिकाले भए नभएको विषयमा आयोगले निगरानी गर्ने प्रतिबद्धता जनाए। राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा त्यसलाई गम्भीर अपराधका रूपमा लिई कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिने उनको भनाई थियो।
उनले राष्ट्रिय झण्डाको दुरुपयोग देखिएमा निर्वाचन आयोगलाई जानकारी गराउन सर्वसाधारण नागरिकलाई आग्रहसमेत गरे। ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ले राष्ट्रिय झण्डाको आकार, फहराउने विधि तथा प्रयोग गर्न नपाइने अवस्थाबारे स्पष्ट पारेको छ। यस्तै, प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोगको नियमित अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।
कार्यविधिअनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न, झण्डा उल्टो राख्न, च्यात्न, जलाउन, फ्याँक्न वा कुनै सामान पोको पार्न प्रयोग गर्न निषेध गरिएको छ। व्यापारिक प्रयोजन वा विज्ञापनका लागि झण्डाको दुरुपयोग गर्न र व्यक्तिले शरीरमा झण्डाको प्रतिक प्रयोग गर्दा कम्मरभन्दा मुनिको भागमा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा अभियानले प्रतीकात्मक रूपमा एक थान राष्ट्रिय झण्डा निर्वाचन आयोगलाई प्रदान गरेको थियो।