संखुवासभाको चिचिलामा एक घरमा आगलागी

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

संखुवासभाको चिचिलामा एक घरमा आगलागी भएको छ। गएराति करिब साढे १२ बजेतिर चिचिला गाउँपालिका–३ तीनघरे डाँडागाँउका स्थानीय ३२ वर्षीय समिर राईको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राईको ढुङ्गा, माटो, काठ र फुसको छाना भएको २ तले टाडे घरको चुल्होबाट आगो सल्केर अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर र घरभित्र रहेको अन्नपात, भाँडा वर्तन, लत्ताकपडा र नगद रु ५० हजार जलेर नष्ट भएको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट करिब पाँच लाख रुपैयाँबराबरको क्षति भएको आकलन छ। मानवीय तथा पशु चौपाय क्षति नभएको जनाएको छ। उक्त आगो स्थानीयबासीहरुको सहयोगमा विहान करिब ३ बजेतिर पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।

सुझावित समाचार