- पारलिंगी महिलाले पनि महिलाजस्तै जीवन बाँचिरहेका छन्, महिलाजस्तै उत्पीडन भोगिरहेका छन् र महिलाजस्तै प्रतिरोध गरिरहेका छन्
महिला पहिचानको सामाजिक र राजनीतिक अर्थ : महिला जन्मिँदैनन्, महिला बनिन्छन् । यो भनाइ भावनात्मक नारा होइन, यो समाजको शक्ति संरचनामाथि गरिएको गहिरो प्रश्न हो । महिला हुनु जैविक अवस्थाभन्दा धेरै परको अनुभव हो । पीडा, संघर्ष, हिंसा, विभेद, दमन र निरन्तर अस्वीकारको यात्राले महिला पहिचान निर्माण हुन्छ । यही अस्वीकार्यताको समस्या ‘सिसजेन्डर महिला’ र पारलिंगी महिला दुवैले भोगिरहेका छन् । त्यसो भए पारलिंगी महिलालाई महिला मान्न समाज अझै किन हिच्किचाइरहेको छ त ?
साझा पीडा, साझा यथार्थ : महिलाको जीवनमा नियन्त्रण घरबाटै सुरु हुन्छ । खुलेर बाँच्ने इच्छा अपराधसरह ठहरिन्छ । आफ्नो पहिचान खुलाए बहिष्कारको धम्की दिइन्छ । विद्यालयमा बुलिङ, यौनिक दुव्र्यवहार र मानसिक यातनाले बाल्यकाल नै असुरक्षित बनाइन्छ । रोजगारी खोज्दा योग्यता होइन, शरीर र पहिचानमाथि शंका गरिन्छ । एक्लो महिला होस् वा पारलिंगी महिला, सुरक्षित बसोवास पाउनु अझै पनि कठिन छ । यी अनुभव महिला हुनुको साझा यथार्थ हुन्, फरक यत्ति हो कि पारलिंगी महिलाले यो सबै अझ तीव्र रूपमा भोग्नुपर्छ ।
शरीरमाथिको अधिकार र पितृसत्ताको हिंसा : महिलाको शरीरमाथिको स्वायत्तता आज पनि अधुरो छ । आफूले चाहेको कपडा लगाउने, शरीर सजाउने, आफ्नो पहिचान अभिव्यक्त गर्ने अधिकार सामाजिक निगरानीमा पर्छ । पितृसत्ताले महिलाको शरीरलाई नियन्त्रणयोग्य वस्तु ठान्छ । प्रेम, विवाह, यौनिकता र सम्बन्धभित्रसमेत दमन र हिंसा व्याप्त छ । पारलिंगी महिला पनि प्रेमका नाममा धोका, मानसिक उत्पीडन, शारीरिक हिंसा र बलात्कारको जोखिममा पर्छन् । उनीहरू पनि सजिलै प्रेमजालमा फस्छन्, किनकि उनीहरू पनि समाजले कमजोर ठहर्याएका महिला हुन् ।
सामाजिक सञ्जाल र मिडियामा हुने उत्पीडन : आजको समयमा उत्पीडन केवल भौतिक संसारमा मात्र सीमित छैन । सामाजिक सञ्जाल महिलाका लागि अर्को असुरक्षित क्षेत्र बनेको छ । पारलिंगी महिलाले ‘सोसल मिडिया’मा भोग्ने समस्या पनि ‘सिसजेन्डर महिला’ले भोग्ने समस्यासँग उस्तै प्रकृतिका छन् । गोपनीयता भंग गरिन्छ, निजी तस्बिर र जानकारी दुरुपयोग गरिन्छ । अश्लील टिप्पणी, निरन्तर बुलिङ र यौनिक ह्यारासमेन्ट सामान्यजस्तै बनाइएको छ । विचार राखेकै कारण चरित्र हत्या गरिन्छ र हिंसाको धम्की दिइन्छ ।
मिडियाले गर्ने प्रश्न पनि धेरै हदसम्म उस्तै प्रकृतिका छन् । महिलाको विचार, संघर्ष वा कामभन्दा बढी शरीर, यौनिकता र निजी जीवनमाथि प्रश्न गरिन्छ । पारलिंगी महिलासँग गरिने अन्तर्वार्तामा संवेदनशीलता होइन, सनसनी खोजिन्छ । पहिचानलाई मुद्दा होइन, तमासा बनाइन्छ । यसले महिलालाई दोहोरो रूपमा असुरक्षित बनाउँछ, एक त महिला भएर र अर्को सार्वजनिक नजरमा परिएका कारण ।
राज्य र कानुनको असफलता : उत्पीडन समाजबाट मात्र होइन, राज्यबाट पनि हुन्छ । कानुनी अस्पष्टता, कार्यान्वयनको कमजोरी र संवेदनशीलताको अभावले पारलिंगी महिलालाई न्यायबाट टाढा राखेको छ । सामाजिक सञ्जालमा हुने हिंसा र ‘ह्यारासमेन्ट’मा राज्यको प्रतिक्रिया प्राय: उदासीन देखिन्छ । उजुरी दर्ता गराउँदासमेत अपमान, उपहास र बेवास्ता सहनुपर्छ । कागजमा अधिकार लेखिए पनि व्यवहारमा पारलिंगी महिलाले दोस्रो दर्जाको नागरिकझैँ व्यवहार भोगिरहेका छन् ।
आर्थिक असमानता र सत्तामा पहुँचको अभाव : कमजोर आर्थिक अवस्था र सत्तामा पहुँचको अभावले महिलाको न्यायप्राप्तिको यात्रा झनै कठिन बनाउँछ । जुनसुकै महिला होस्, यदि ऊ आर्थिक रूपमा कमजोर छ र राजनीतिमा पहुँच छैन भने उसले न्याय पाउने सम्भावना न्यून हुन्छ । उच्च आर्थिक हैसियत र राजनीतिक प्रभुत्व भएकाहरूले सजिलै कानुनलाई आफ्नो पक्षमा मोड्न सक्छन् । पितृसत्तात्मक सोच हाबी रहेको समाजमा महिलाको स्थिति अझै पनि दयनीय छ । पारलिंगी महिला त दोहोरो रूपमा सीमान्तकृत छन् ।
पारलिंगी महिलाको अस्तित्व : पारलिंगी महिलाको अस्तित्व अस्वीकार गर्नु केवल ‘ट्रान्सफोबिया’ होइन, यो महिलावादप्रतिकै चुनौती हो । महिला हुनु वा महिलाको पहिचानमा बाँच्नु समाजका लागि धब्बा हो भन्ने मानसिकता नै पितृसत्ताको मूल समस्या हो । महिलावाद यदि सबै महिलाको मुक्तिको आन्दोलन हो भने पारलिंगी महिलालाई बाहिर राखेर त्यो आन्दोलन अधुरो नै रहन्छ ।
निष्कर्ष : जब शरीर जन्मिन्छ, तब आत्मा पनि जन्मिन्छ । जब आत्माले आफ्नो पहिचान खोज्छ र शरीरमाथि अधिकार माग्छ, त्यहीँबाट स्वतन्त्रताको चेतना सुरु हुन्छ । मातृत्व, दासत्व र नियन्त्रणमाथि स्वतन्त्र व्यवहारको जन्म नै महिलावाद हो । महिला हुनु व्यवहार हो, चेतना हो, संघर्ष हो । त्यसैले महिला जोकोही बन्न सक्छिन् । पारलिंगी महिला पनि महिला हुन्, किनकि उनीहरूले पनि महिलाजस्तै जीवन बाँचिरहेका छन्, महिलाजस्तै उत्पीडन भोगिरहेका छन् र महिलाजस्तै प्रतिरोध गरिरहेका छन् ।
(कवि तथा लेखक परियार नीलहिरा समाज, समता फाउन्डेसनकी फेलो हुन्)