- २६० हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनका करिब १० प्रतिशत सालका रुख पातविनाका
दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रुखहरू सुकेका जस्ता देखिएका छन् । पालुवा पलाउने वेलामा सालका रुख डढेँलो लागेजस्तो देखिएका हुन् । २६० हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनका करिब १० प्रतिशत साल पातविनाका छन् । बबई गाउँपालिकाको पुरन्धारा, दंगीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रुखमा यस्तै समस्या देखिएको छ ।
सामुदायिक वनमा सालका रुख सुकेको जस्तो देखिन थालेपछि स्थानीय चिन्तित बनेका छन् । ‘विगतमा यस्तो समस्या थिएन, यस वर्ष सालका रुखहरू सुकेका जस्ता छन्’, तुलसीपुर– ३ का वडाध्यक्ष वीरबहादुर विकले भने, ‘यसले हामीलाई चिन्तित बनाएको छ ।’
यस वर्ष सामुदायिक वनका रुखहरूमा यस्तो महामारी देखिएको डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए । ‘दाङका वनहरूमा सालका रूखमा यस्तो महामारी देखिएको छ,’ उनले भने, ‘रुखहरू डढेँलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ ।’
चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा सालका रुखमा यो समस्या आएको हो । यसले रुखलाई पनि असर गर्ने उनको भनाइ छ । ‘अहिले नै चैत–वैशाखझैँ पात झरेको जस्तो देखिएका छन्, पानी पर्यो भने त पलाउँछ,’ उनले भने, ‘पटक–पटक यस्तै भइरह्यो भने साना रुख सुक्छन्, ठुला रुखमा पनि वृद्धिमा ह्रास आउँछ ।’ महामारीका रूपमा यो समस्या देखिए पनि जिल्लाले केही गर्न नसक्ने उनले बताए । समस्या समाधानका लागि विभागमा चिठी पठाए पनि त्यसको कुनै प्रतिक्रिया नआएको चौधरीको भनाइ छ । ‘जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन, हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधन–स्रोत पनि छैन,’ उनले भने, ‘विभागमा चिठी पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।’
एउटा पुतलीले एकै दिनमा तीन सयजति फूल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको अधिकृत चौधरीले बताए । उनका अनुसार ड्रोन वा हेलिकोप्टरबाट औषधि छर्किएमा त्यसले अन्य पशुपक्षी तथा जनावरलाई समेत असर गर्ने भएकाले चुनौती थपिएको छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सकिने चौधरीले बताए ।
यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएको थियो । तर, त्यो पछि बिस्तारै हराउँदै गएको थियो । चौधरीका अनुसार दाङमा अहिले १५–२० वटा सामुदायिक वनका हजारौँ हेक्टरमा यस्तो समस्या देखिएको छ । दाङमा दुई लाख हेक्टर वन क्षेत्रफल छ । तीमध्ये सघन वनक्षेत्र एक लाख ९२ हजार ६८२ र बुट्यान क्षेत्र आठ हजार ४३ हेक्टर छ । जिल्लामा ३६९ सामुदायिक वन छन् । जसबाट ८० हजारको हाराहारीका घरधुरी लाभान्वित छन् । दाङमा ६ वटा धार्मिक वन छन् । जुन एक सय ५३ हेक्टर क्षेत्रफलमा छ । दाङमा २४० वटा निजी वन छन् । जुन एक सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।