शवगृहमा राखिएको शव बदल्ने अस्पताल प्रमुखलाई कारबाही माग

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

भारतबाट बाबुआमा फर्केपछि मात्र पोस्टमार्टम गर्ने गरी आफन्तले अस्पताल प्रशासन र प्रहरीको जिम्मा लगाएर शवगृहमा राखिएको शव अदलबदल भएको छ । सिराहाको गोलबजार नगरपालिका– ३ जमदहकी करिब १६ वर्षीया निशा बानियाँको शव लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालबाट आइतबार पोस्टमार्टम गरी सप्तरीको खडक नगरपालिका– १ सिसवा बेलही पुर्याएर दाहसंस्कार गरेको करिब २४ घण्टापछि खुलेको हो । अस्पताल प्रशासनका अनुसार सिसवा बेलहीकी करिब १७ वर्षीया राधिकाकुमारी साहका आफन्तले आइतबार निशाको शव राधिकाको भन्दै पोस्टमार्टम गराएर बुझेर लगेका थिए । 

अस्पतालमा कार्यरत सुरक्षाकर्मीका अनुसार शनिबार दिउँसो ३ बजेतिर बानियाँको शव नातामा काका पर्ने तिलकबहादुर बानियाँसहित गाउँलेले लहान अस्पताल प्रशासनलाई बुझाएका थिए । शव शवगृहमा राखियो । ‘निशाका बाबु पूर्णबहादुर र आमा जविना भारतको मुम्बई बस्ने भएकाले फर्किएपछि मात्र पोस्टमार्टम गरेर लैजाने गरी फर्कियौँ,’ तिलकबाहदुरले भने, ‘उहाँहरू सोमबार बिहान गाउँ फर्किएपछि दिउँसो अस्पताल आउँदा शव नै भेटेनौँ ।’ अस्पताल प्रशासन प्रमुख र ड्युटीमा रहेका कर्मचारीको मिलेमतोमा शव अदलबदल गरिएको हुन सक्ने आशंका गर्दै उनले अस्पताल प्रमुखसहित पोस्टमार्टम गर्ने चिकित्सक र प्रहरी कर्मचारीलाई पनि कानुनी कारबाही गरिनुपर्ने माग गरे । 

शव कोडिङ गरेर नराखिनु लापरबाही
अस्पतालका निमित्त कार्यालय प्रमुख डा. रणजितकुमार झाले शव राख्नुअघि कोडिङ गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि कमजोरी भएको स्विकारे । ‘सप्तरीबाट शव ल्याएका व्यक्तिले नै बुझेर लगेका हुन्,’ उनले भने । अस्पतालले पोस्टमार्टम मात्र गरिदिने, तर बाँकी काम प्रहरीको भन्दै उनले त्यस दिन शवगृहमा राखिएको दुईवटा शवको कोडिङको विषयमा भने बोल्न चाहेनन् । निशाको परिवारले छोरीको मृत्युअघि १० वर्षीय भाइसहित लहान आएर एक रात बसेको र राति बसेको ठाउँका युवकले कुटपिटसमेत गरेको जनाएको छ । ‘त्यही रात यौन दुव्र्यवहारसमेत भएको हुन सक्छ, त्यही कारणले सेटिङमै शव साटिएको आशंका छ, निष्पक्ष अनुसन्धान गरी कारबाही हुनुपर्छ,’ बाबु पूर्णबहादुरले भने । उनलाई कुटपिट गर्ने युवक को हुन् र कस्तो सम्बन्ध थियो भन्ने विषयमा भने केही खुलेको छैन । 

शव अदलबदल भएको खुलेपछि इलाका प्रहरी कार्यालय लहानले सप्तरी प्रहरीसँग समन्वय गरी सोमबार अपराह्न निशाको शव राधिकाको भन्दै बुझेर लिएर गएका नातामा काका पर्ने सतिव साहलाई नियन्त्रणमा लिएको छ । उनलाई लहान ल्याएलगत्तै शवगृहमा पुर्याएर पहिचान गर्न लागाउँदा भने शव राधिकाको रहेको स्वीकारेको प्रहरीले जनाएको छ । यो विषयमा के गर्ने भन्नेबारे कानुन व्यवसायीसँग पनि छलफल भइरहेकाले दुवै पक्षलाई राखेर कुराकानी गरिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्त र स्थानीय बासिन्दाले सोमबार अपराह्नदेखि अस्पताल प्रमुख, पोस्टमार्टम गर्ने चिकित्सकलाई कानुनी कारबाहीसहित क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम लोकमार्गको गोलबजार खण्डमा टायर बालेर यातायात अवरुद्ध गरेका छन् ।

जमदहस्थित सरस्वती माविमा कक्षा १० मा पढिरहेकी निशा सरस्वती पूजाको दिन शुक्रबार १० वर्षीय भाइ निशान्तसहित विद्यालय आएकी थिइन् । विद्यालयको पूजामा सहभागी भएपछि भाइसहित लहान आएर एक रात बसेको र भोलिपल्ट बिहान करिब १० बजेतिर घर फर्किएको बताइएको छ । घर पुगेपछि भारतमा रहेका बाबुसँग भिडियोमा कुराकानीपछि भाइलाई मोबाइल दिएर कपडा फेर्छु भन्दै कोठा छिरेकी निशा लगत्तै झुन्डिएको अवस्थामा भेटिएको स्थानीयले बताए ।

See More On

सुझावित समाचार