- स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह ‘बी’को चौथो स्थानमा सीमित
पहिलोपटक विश्वकप खेल्ने सपना बुनेको नेपाली महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । घरेलु मैदानमै पहिलोपटक आयोजना भइरहेको ग्लोबल छनोटको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलोअन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा नभएको हो ।
पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोडेको थियो । प्रत्युत्तरमा नेपाल १३.५ ओभरमा ६८ रनमै समेटियो । कप्तान इन्दु बर्माले ब्याटिङ इनिङ्समा रिटायर्ड हट भइन् । त्यसपछि उनले ब्याटिङ गरिनन् । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डलाई हराउँदा नेपालले सुपर सिक्समा स्थान बनाउँदै विश्वकप खेल्ने सम्भावना बलियो बनाउने थियो ।
सुपर सिक्सको शीर्ष चार टोली आगामी जुनमा इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । समूह ‘बी’ मा नेपालले चार खेलमा दुई अंक मात्र जोडेको छ । नेपाल समूहको चौथो भयो । यस समूहमा नेदरल्यान्ड अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । नेपालमाथि सानदार जित निकालेको स्कटल्यान्ड दोस्रो र चार अंक जोडेको थाइल्यान्ड तेस्रो भएको छ । यो समूहबाट नेदरल्यान्ड, स्कटल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
टेस्ट मान्यताप्राप्त जिम्बावे भने जितविहीन हुँदै पुछारमा रह्यो । नेपालले समूह ‘बी’मा एक मात्र जित जिम्बावेमाथि निकालेको थियो । नेदरल्यान्ड्ससँग नेपाल दुई रन तथा थाइल्यान्डबाट आठ विकेटले नेपाल पराजित भएको थियो । स्कटल्यान्डविरुद्धको निर्णायक खेलमा ब्याटिङ र फिल्डिङमा चुक्दा पराजित भएको सीता रानामगरले बताइन् । ‘हामी पुन: एकपटक ब्याटिङ र फिल्डिङमा पछि पर्यौँ,’ खेलपछि रानामगरले भनिन्, ‘ब्याटिङमा ठुलो साझेदारी भएन । सबै ठुलो सट लगाउने चक्करमै आउट हुनपुगे ।’
बलिङ दमदार, तर फिनिसिङ फितलो
कप्तान इन्दु बर्माले टस जितेर स्कटल्यान्डलाई ब्याटिङ निम्तो दिएकी थिइन् । कप्तानको फिल्डिङ रोज्ने निर्णयलाई नेपाली बलरले सुरुवाती क्रममा सही साबित गरेका थिए । फास्ट बलर मनीषा उपाध्यायले चार ओभरमा १७ रन दिएर चार विकेट लिएपछि स्कटल्यान्ड ६.६ ओभरमा ४१–४ को कमजोर अवस्थामा थियो । इनिङ्सको पहिलो ओभरमै सनसनी रूपमा दुई विकेट लिँदै नेपाललाई सानदार सुरुवात दिलाइन् । उनले इनिङ्सको दोस्रो बलमै स्कटल्यान्डकी ओपनर क्याथरिन फासेरलाई सम्झना खड्काबाट क्याचआउट गराइन् । इनिङ्सको ०.४ ओभरमा मनीषाले डार्सी काटरलाई बोल्ड गर्दा स्कटल्यान्ड ५–२ को स्थितिमा रह्यो । त्यसपछि २.४ ओभरमा मनीषाले नै कार्थन ब्रासलाई एलबिडब्लू धरापमा राखिन् । मनीषाले अलिसा लिस्टरको विकेट लिँदा स्कटल्यान्ड ७९–६ को नाजुक अवस्थामा रह्यो ।
यो स्थितिसम्म नेपालले खेलमा पकड बनाइसकेको थियो । तर, रिचाल स्लाटर र प्रियान्जा चटर्जीले आठौँ विकेटका लागि ४४ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई १२३–७ को बलियो अवस्थामा पुर्याइन् । नेपालले बलिङ क्रममा खेल गुमाएको यसै सातौँ विकेटको साझेदारी नै रह्यो । दुई ब्याट्सम्यानबिचको बलियो साझेदारी हुँदा नेपालका खेलाडीले धेरै फिल्डिङ मिस गरेका थिए । नेपालले पहिलो १० ओभरसम्म खेल नियन्त्रणमा राखे पनि डेथ ओभरमा भने उत्कृष्ट बनाउन सकेन । अन्तिम पाँच ओभरमा स्कटल्यान्ड नेपालमाथि हाबी हुँदा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सफल भयो ।
नेपाल १३.५ ओभरमै समेटियो
स्कटल्यान्डले प्रस्तुत गरेको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपाली ब्याट्सम्यान मुस्किलले १३.५ ओभरसम्म मात्र क्रिजमा रहन सके । नेपाली महिला क्रिकेट इतिहासको भविष्य कोर्न सक्ने प्रतिस्पर्धामा घरेलु खेलाडी ब्याटिङमा चुके । सुरुवातदेखि खेलाडीहरूले जिम्मेवारीपूर्वक खेलेनन् । रनरेट बढाउने योजनाका साथ क्रिजमा ओर्लेका घरेलु खेलाडीले धैर्यता राख्न सकेनन् । जसका कारण विपक्षी स्कटल्यान्डले सहजै विकेट लिँदै गयो । नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४ रन बनाए । रुबिना क्षेत्रीले १० रन बनाइन् । जिम्बाब्वेविरुद्धको ऐतिहासिक जितमा नायक बनेकी पूजा महतो २ रनमै पेभिलियन फर्किइन् । उनी आउट भएपछि नेपालको आशा लगभग समाप्त भएको थियो ।
नेपालले पाँच विकेट गुमाउँदा ४० रन जोडेको थियो । त्यसपछिका पाँच विकेट २८ रनमा गुमायो । रोमा थापाले समान एक चौका र एक छक्का प्रहार गरेकी थिइन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले तीन विकेट लिइन् । स्कटल्यान्डको ब्याटिङमा चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन र सराह ब्राइसले १८ रन जोडेका थिए । नेपालको बलिङमा रुबिना क्षेत्रीले चार ओभरमा २३ रन दिएर तीन विकेट लिइन् ।