राजनीतिक नायक अवसानको दु:खान्त अब सकिनुपर्छ

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण
  • आन्दोलनमाथि हिंस्रक दमनपछिको चुनावले पनि सही नेतृत्व ल्याएन भने देश आशाबाट निराशातर्फ स्थायी रूपमा लाग्नेछ

आजको यो लेख अब्राहम लिंकनको एउटा कथनबाट सुरु गरौँ । कथन लोकतन्त्रको परिभाषासँग जोडिएको छ भनेर तपाईंको दिमागमा आइसकेको हुन सक्छ । तर, आजको कथन जनताद्वारा जनताका लागि जनता चुनिने प्रक्रियापछिको भ्रष्ट आचरणसँग जोडिएको छ । लिंकन भन्छन्– मानिसले हरेक कठिनाइ सहन सक्ने क्षमता राख्छ । यदि कुनै मानिसको चरित्रको परीक्षा लिनु छ भने उसलाई सत्ताको शक्ति दिएर हेर । प्रजातान्त्रिक प्रणालीमा संसारभरका मानिसले कुनै समूहका व्यक्ति वा एक व्यक्तिलाई सत्तामा पुर्याउँछन् । जब कुनै व्यक्तिले सत्ताबाट प्राप्त हुने शक्तिलाई परीक्षाका रूपमा लिन्छ, त्यहाँको समाज र जनता अगाडि बढ्छन् । तर, धेरैजसोले त्यसलाई आफ्नो परीक्षा ठान्दैनन्, आफ्नो हक सम्झन्छन् । नेपाल सायद पहिलो दश देशमै पर्छ, जहाँ जनताले दिएको शक्तिको चरम दुरुपयोग हुने गरेको छ । नेपालका सन्दर्भमा शक्ति हस्तान्तरणपछिको अवस्था सकारात्मक छैन । हामीकहाँ लिंकनले भनेझैँ आन्दोलन र जेलका कठीनाइ सहने मानिसको कमी भएन, कमी शक्तिको उन्माद खप्न सक्ने नेतृत्वको भयो ।

नेपालको पहिलो प्रजातान्त्रिक घोषणापछिका ७५ वर्षमा ३० वर्षको पञ्चायतलाई हटाएर हेर्दा ४५ वर्षको प्रजातन्त्रको अभ्यास देखिन्छ । हाम्रो प्रजातन्त्रको सुरुवात नै शक्तिमाथिको ठुलो लेनदेनबाट भयो, जहाँ राणाविरुद्ध भएको आन्दोलनमा राणालाई नै सत्ता दिएर सम्झौता गरियो । क्रान्तिले राजालाई खोपीबाट बाहिर निकाल्यो । तर, जनतालाई प्रधानमन्त्री उही दियो । राणा प्रधानमन्त्रीको नेतृत्वमा राणाविरुद्ध आन्दोलन गर्ने बिपी कोइराला र गणेशमान सिंहजस्ता नेता मन्त्री बन्न पुगे । इतिहासकारले त्यसका बाध्यता र उनीहरूको विकल्पका विषयमा अरू छलफल गर्न सक्ने भए । तर, हाम्रो प्रजातन्त्रको जगमा राणा प्रधानमन्त्रीकै इँटा हालियो । राणाहरू जो क्रूर थिए र जनतालाई पशुझैँ व्यवहार गर्थे । उनीहरू नै जनताका प्रतिनिधि चयन हुने प्रणालीको मुली भए । राणाहरूसँग जुध्न राज्यका मन्त्रीहरू लाग्नुपर्यो, चुनावमार्फत नयाँ प्रतिनिधि छान्ने घोषणा छायामा पर्यो । प्रजातान्त्रिक आन्दोलनमा लागेका राजा त्रिभुवन सुरुमा राणा फाल्न यति क्रान्तिकारी थिए, उनले प्रजापरिषद्का सदस्यलाई त्यसको विधानमा ‘मपछिका सन्तानले जनतालाई कस्तो व्यवहार गर्छन्, त्यसैले गणतन्त्र लेख’ समेत भनेका थिए । प्रजापरिषद्का सदस्यले पछाडि हटेर राजालाई समेट्दै बेलायतको जस्तो प्रणाली लेखे ।

तर, तिनै राजा जब राणा फालिएपछि खोपीबाट बाहिर आए, आफूमा शक्ति बढाउने गतिविधिमा लागे । त्योभन्दा अगाडि बढेर उनका छोराले झन् शक्तिजति सबै आफूमै केन्द्रित गरे । बाउदेखि छोरासम्म जेल परेका कोइराला परिवारको सत्तासँगको लोभले त २००७ देखि २०१७ सम्मको समयलाई अस्थिर बनाउने भूमिका नै खेल्यो ।

२००७ सालपछिको राजनीति खासमा दुई भाइबिचको सत्तासंघर्षले राजालाई खेल्ने ठाउँमा ल्याएको थियो । मातृकाप्रसाद कोइरालासँग नेपालको जनमत थिएन, तर भारतका प्रधानमन्त्रीको साथ थियो । जो राजा भारतकोे साथले शक्तिशाली भएका थिए, उनको साथ स्वाभाविक रूपमा नेहरूका नेपालका मित्र मातृकासँग हुनु सामान्य थियो । जनताको साथ भएका व्यक्ति सत्ताबाहिर हुँदा साथ नहुनेले सत्तालाई निरन्तर गर्ने अभिलाषा राख्ने अवस्थालाई राजा त्रिभुवनले आफू झनै बलियो हुन प्रयोग गरे ।

घोषणाको आठ वर्षपछि भएको चुनावले दुइतिहाइको सरकार ल्यायो । आधारभूत विकास नभएको र आधारभूत तथ्यांकसमेत नभएको नेपालमा निर्वाचनमार्फत आएका प्रधानमन्त्री बिपी काइरालाले शासन गरेको डेढ वर्षमा गण्डक सम्झौताबाहेक अरू विवादका विषय छैनन् । तर, उनले काम गर्दागर्दै राजाको शक्तिमोहले नेपालको प्रजातान्त्रिक प्रक्रिया ‘कोमा’मा पुग्यो ।

खोपीबाट बाहिर निस्किएका महेन्द्रलाई आफू नेहरूजत्तिकै शक्तिशाली देखिनु थियो संसारभर । उनले नेपालका जनताको छनोटमा धाबा बोले र शक्ति आफूमै केन्द्रित गरे । दश वर्षअगाडिसम्म राजदरबारको गेट हेर्नसमेत राणाहरूको अनुमति लिइरहेका राजाको असीमित शक्तिको भोकले नेपालमा प्रजातन्त्रको हत्या भयो । लोभले यहाँ सानदार शासन गर्यो । पञ्चायतका तीस वर्ष राजाको निरंकुशताविरुद्ध लड्ने अनेक साहसिक व्यक्ति जन्मिए । तर, उनीहरू जब सत्तामा पुगे, त्यो साहस भ्रष्टाचार गर्न र आफूकेन्द्रित राजनीति गर्नमा देखिन थाल्यो । दुईवटा राजाविरुद्ध लडेर २०४६ मा आएको प्रजातन्त्रपछि नेपालमा उदाएका शासकको स्वभाव कस्तो थियो ? सत्तालोलुप मानिसको झुण्डजस्तो ।

१९९० को दशक यस्तो दशक हो, जसमा बिपी कोइरालाका भाइ जिपी कोइरालाले अस्थिरताको संस्कृतिको उद्घाटन गरे । दलका नेता–कार्यकर्तालाई सरकारी नियुक्तिको सुरुवात गरे । उनले दलभित्र हुने विवादलाई राज्यको स्वार्थसँग सम्झौता गरे र अस्थिरता निम्त्याए । २०४८ मा बहुमत पाएको शक्ति दलभित्रको आन्तरिक द्वन्द्व मिलाउने विकल्प छाडेर आफैँ ५१ मा मध्यावधि चुनावमा गयो । त्यो चुनावमा कसैको बहुमत आएन । जसले सरकार बदल्ने रणनीतिमा काम गर्नु दलहरूको एक मात्र दैनिक गतिविधि बन्यो । त्यसले नेपालमा सत्तामा पुग्न गर्न हुने र नहुने सबै तरिका अपनाए । त्यही समयमा कांग्रेसमा शेरबहादुर देउवा प्रधानमन्त्री बने अनि राजावादीहरू फेरि सरकार चलाउने भए । २०५६ मा भएको चुनावले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने सर्तमा कांग्रेसलाई बहुमत दियो । एक वर्ष नहुँदै जिपी कोइरालालाई सत्तामा जानुपर्यो । यतिसम्म लाजमर्दाे अवस्था थियो कि कांग्रेससँग बहुमत थियो, प्रधानमन्त्री एक–एक वर्षमै फेरिएर २०५८ सम्ममै देशले तीनजना प्रधानमन्त्री पायो ।

दलहरूका एकपछि अर्काे सर्कस प्रदर्शनले जनताले राजा मान्न अस्वीकार गरिएका व्यक्तिले देशमा फेरि २०१७ साल ल्याइदिए । तर, दलहरूको समर्थनमा कोही सडकमा आउन चाहेन । राजाको एकवर्षे प्रत्यक्ष शासनमै जनताले दलहरूलाई सुध्रिएर आउने र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने सर्तमा सडकमा निस्किन तयार भए ।

राजाले प्रजातन्त्र फालेपछि सुध्रिएका दल नै त हुन् ६३ साल वैशाखमा सिंहदरबार छिरेका । अझ देशका लागि मर्ने हो भनेर हिँडेकाहरू मिसिएको पनि त्यति नै वेला हो । तर, संविधानसभा चुनावको परिणाम ६५ को सुरुका महिनामा आइपुग्दा पनि लोकतन्त्रका रक्षक भनेर आएका गिरिजाप्रसाद कोइरालाले नै राजीनामा नदिएर नेपालको आउने दिनको दिशा देखाइसकेका थिए । माओवादीहरू बालुवाटार आउँदा लगाएको सर्ट केही महिनामै फुकालेर कोट लगाउने भइसकेका थिए ।

संविधान निर्माणमा केन्द्रित हुने समयमा दलहरूले सिंहदरबार कब्जामा अर्काे सर्कस देखाए । २०७२ मा भूकम्प नगएको भए वा कोही व्यक्ति विशेषलाई संविधानपछिको प्रधानमन्त्री नतोकिएको भए अझै संविधान लेखन चलिरहेको पनि हुन सक्थ्यो । संविधान जारी गर्ने विषयलाई सरकार प्रमुख फेर्ने विषयसँग जोडेर दलहरूले नयाँ संविधान शक्ति बाँडफाँडको एउटा माध्यम बनाए, जसले संविधानलाई अपूरो बनायो । फलत: मधेश आन्दोलन भयो र भारतीय हस्तक्षेप नेपाल भित्रियो । भारतीय नाकाबन्दीसँग लडेका प्रधानमन्त्री केपी शर्मा ओली आफूभित्रको भ्रष्टाचारसँग लड्न सकेनन् । दुइतिहाइको बहुमत भएको सरकार बन्दा पनि नेपालमा स्थिरता आउन सकेन, संसद् विघटन भइरहे ।

नेपालमा आन्दोलनले प्रजातन्त्र ल्याएको छ, गणतन्त्र ल्याएको छ, संघीयता ल्याएको छ । योपटक आन्दोलनमाथि अहिलेसम्मकै राज्यको हिंस्रक दमनपछिको हिंस्रक आन्दोलनले चुनाव ल्याएको छ । त्यसैले, अब यो चुनावले सही नेतृत्व ल्याएन भने देश आशाबाट निराशातर्फ स्थायी रूपमा लाग्नेछ । नेपालको माटो सुहाउँदो नेतृत्वको उदाहरण दिन धेरै अगाडि जाँदा ७५ वर्ष र पछाडिबाट हेर्दा ३५ वर्षको इतिहासमा हामीसँग एकजना पनि नेता छैनन् । हाम्रो देश र समाजको दुर्भाग्य, इमानदारी नभएका नेतृत्वको सामन्यीकरण र सांस्कृतिकीकरण हो । नयाँ नायक ल्याउन देश चुनावमा होमिँदा चुनाव जितेपछिको उसको रहर जनताप्रति उत्तरदायी हुनेछ वा आफ्ना बाँकी रहेका सपना पूरा गर्नतिर लाग्नेछ, त्यसमा सजग हुन जरुरी छ । हामीसँग भएका नेताको क्षमतासँगको प्रश्न होइन, हाम्रा नेताले शक्ति प्राप्त गरेपछि आफूलाई भ्रष्ट हुन नदिन गर्ने संघर्षको कमी हो, नेपालको राजनीतिको वियोगान्त ।

सन् १९६० मा भारतको प्रतिव्यक्ति आय ८० अमेरिकी डलर हुँदा नेपालको ५० थियो । तीस वर्षपछि १९९० मा भारतको ३६० हुँदा नेपालको १८५ थियो । राजाबाट दलहरूले शासन लिने वर्ष २००६ मा नेपालको ३४० थियो भारतको ८०० पुगेको थियो । हामीले संविधान जारी गर्ने वर्ष भारतको १६०० हुँदा हाम्रो ८७५ पुग्यो । सन् २०२४ मा भारतको २००० कट्दा हाम्रो १५०० हाराहारीमा छ । प्रतिव्यक्ति आय १९९० को अनुपातमा सात सय प्रतिशत बढेको छ । यसरी हेर्दा हाम्रो विकास ठिकै भएको तथ्यांक देखिन्छ । तर, यो हाम्रो उत्पादनले बढाएको आय हो त ? व्यक्तिगत आय बढेझैँ हाम्रा संरचनाको हालत के छ ? शिक्षामा के छ ? स्वास्थ्यमा के छ ? उत्पादनमा के छ ? 

सन् १९९३ मा कुल गार्हस्थ उत्पादनमा १ दशमलव ५ प्रतिशत रेमिट्यान्सको हिस्सा भएकोमा २०२४ मा २६ दशमलव २ प्रतिशत पुगेको छ । यसले हाम्रो व्यक्तिगत आय रेमिट्यान्सले बढाएको पुष्टि गर्छ । डरलाग्दो के हो भने यो हाम्रा युवाहरूको निर्यातले हाम्रो व्यक्तिगत आय बढाएको हो । जब युवाको माग घट्ला । हाम्रो आय पनि त घट्नेछ अनि हाम्रा चुलामा भात पाक्न छाड्नेछ ।

शक्तिको वैभवमा जनताका दु:ख देख्न सक्ने नेतृत्वको अभाव हाम्रा चुनौती हुन् । ती व्यक्तिको खोजी यो चुनावको परिणाम होस् । नेतृत्वमा कठिनाइ सहने होइन, शक्ति सहन सक्ने व्यक्ति देख्न पाइयोस् । हाम्रा अहिले उपलब्ध नेता कस्ता हुन्, त्यसको उदाहरण सडकमा बच्चा च्यापेर माग्दै हिँड्ने आमाहरूलाई हेर्नुस् । जसले कमाउन बच्चालाई औषधीले लठ्याउन सरम र धक मान्दैनन् । ती सक्कली आमा हुन् कि नक्कली, कसैलाई थाहा हुन्न । हामीलाई चाहिएका नेता त्यस्ता हुन्, जो काँधमा बच्चा बाँधेरै भए पनि गिट्टी कुट्छन् र आफ्ना बच्चा हुर्काउँछन् ।

देशकै लागि भनेर लागेकाहरूको सत्तामा पुगेपछिको नकारात्मक परिवर्तन हाम्रो समाजको बाधक हो । अब हामीले भोट हाल्दा दल र तिनका उम्मेदवारले हामी फरक हौँ भनिसकेपछि भोलिका दिनमा परिवर्तन नहुने ग्यारेन्टीमा हाल्नुपर्छ । परम्परागत दललाई बदल्न भएको जेन–जी आन्दोलन अहिलेसम्मकै आन्दोलनको चरम रूप थियो । यो आन्दोलनले उत्पादन गरेका व्यक्तिहरू उस्तै नहुने ग्यारेन्टी गर्न मतदाता चुक्नुहुन्न । राजनीतिमा लागेकाहरू देश बदल्न हो कि आफू बदल्न परख्न चुक्न हुन्न । नेपाल चुनावअघिका नायकहरूको कमी भएको देश होइन, चुनावपछिको नायकको अभाव भएको देश हो । चुनाव सकिएसँगै हुने नायकको अवसानको दु:खान्त अब सकिनुपर्छ । 
 

सुझावित समाचार