सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरिनासाथ नेपाल–चीन सीमा बैठक आइतबार सम्पन्न भएको छ। आगामी निर्वाचन र सीमाको सुरक्षा विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार सीमा सुरक्षा, व्यापार र पर्यटन तथा विपत् व्यवस्थापनको विषयमा छलफल भएको हो। सीमा सुरक्षामा मिलेर गस्ती गर्ने र सूचना आदान–प्रदान गर्ने विषयमा कुराकानी भएको अधिकारीले बताए।
सीमाका पिलार संरक्षण, तस्करी रोक्ने, गैरआवागमन र गैरकानुनी गतिविधि रोक्न संयुक्त रूपमा काम गर्ने विषयमा छलफल भएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए।
चीन स्वशासित क्षेत्र सिजाङको जाङ्मुमा सम्पन्न बैठकमा नेपालबाट सिडिओ, एसपी, अनुसन्धान, सशस्त्र र अध्यागमनका अधिकारी र चीनतर्फ जाङ्मु प्रहरीका एसएसपी, एसपी, डिएसपी र अध्यागमनका अधिकारी सहभागी थिए।