दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रुखहरू सुकेकाजस्ता देखिन्छन् । पालुवा पलाउने वेलामा सालका रुखहरू डढेला लागेकाजस्ता देखिने गरेका छन् । २६० हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । त्यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दंगीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रुखमा यस्तै समस्या देखिएको छ ।
पछिल्लो वर्ष दाङका सामुदायिक वनमा सालहरू यसरी सुकेकोजस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । ‘विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष वनका सालका रुखहरू सुकेकाजस्ता छन्,’ तुलसीपुर– ३ का वडाध्यक्ष वीरबहादुर विकले भने, ‘यसले हामीलाई चिन्तित बनाएको छ ।’ यस वर्ष सामुदायिक वनका रुखहरूमा यस्तो महामारी देखिएको डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए । ‘दाङका वनहरूमा सालका रुखमा यस्तो महामारी देखिएको छ,’ उनले भने, ‘रुखहरू डढेलो लागेकोजस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ ।’
उनका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा सालका रुखहरूमा यो समस्या आएको हो । यसले रुखलाई पनि असर गर्ने उनको भनाइ छ । ‘अहिले नै चैत–वैशाखझैँ पात झरेकोजस्तो देखिएका छन्, पानी पर्याे भने त पलाउँछ,’ उनले भने, ‘पटक–पटक यस्तै भइरह्यो भने साना रुखहरू सुक्छन्, ठुला रुखहरूमा पनि वृद्धिमा ह्रास आउँछ।’
महामारीका रूपमा यो समस्या देखिए पनि जिल्लाले केही गर्न नसक्नेसमेत उनले बताए । समस्या समाधानका लागि विभागमा चिठी पठाएको भए पनि त्यसको कुनै प्रतिक्रिया नआएकोसमेत अधिकृत चौधरीको भनाइ छ । ‘जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन, हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधन–स्रोत पनि छैन,’ उनले भने, ‘विभागमा चिठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।’
यसलाई नियन्त्रण गर्न समस्या पनि रहेको उनको भनाइ छ। एउटा पुतलीले एकै दिनमा तीन सयजति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेकोसमेत अधिकृत चौधरीले बताए । उनका अनुसार ड्रोन वा हेलिकाेप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावरहरूलाई समेत असर गर्छ भने वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सकनेसमेत अधिकृत चौधरीको भनाइ छ ।
यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिए पनि पछि बिस्तारै हराउँदै गएकाले यो पनि हराउन सक्ने उनको विश्वास छ । अधिकृत चौधरीका अनुसार जिल्लामा अहिले १५–२० वटा सामुदायिक वनको हजारौँ हेक्टरमा यस्तो समस्या देखिएको छ । दाङमा दुई लाख हेक्टर वन क्षेत्रफल रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छ भने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ ।
जिल्लामा ३६९ सामुदायिक वन रहेका छन् । जसबाट ८० हजारको हाराहारीका घरधुरी लाभान्वित छन् । दाङमा ६ वटा धार्मिक वन पनि रहेका छन् । जुन १५३ हेक्टर क्षेत्रफलमा छ । त्यस्तै, जिल्लामा २४० वटा निजी वन छन् । जुन ११२ हेक्टर क्षेत्रफलमा छ ।