आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर १ मा राजनीतिमा खारिएका नेतादेखि पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ । २३ जनाले उम्मेदवारी दर्ता गराएको यस क्षेत्रमा मुख्य दलका उम्मेदवारसँगै नयाँ दलका उम्मेदवारले पनि चुनावी माहोल तताएका छन् ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित उज्यालो नेपाल पार्टी (उनेपा) र श्रम संस्कृति पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा छन् । तीमध्ये कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना, एमालेका रामेश्वर राना, राप्रपाका दीपकबहादुर सिंह, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतमलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । कांग्रेसकी डिना, एमालेका राना र राप्रपाका सिंह पुराना अनुभवी नेता भनेर चिनिन्छन् । नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम संसदीय निर्वाचनका हिसाबले नयाँ अनुहार हुन् ।
डिना दोस्रो विशेष महाधिवेशनअघि पार्टीको सहमहामन्त्री थिइन् । यो उनको प्रतिनिधिसभातर्फको पाँचौँ प्रतिस्पर्धा हो । यसअघि चारपटक प्रत्यक्षतर्फ पराजित भएकी डिना दुईपटक समानुपातिकतर्फ सांसद बनेकी थिइन् । सोहीक्रममा उनी राज्यमन्त्रीसमेत बनेकी थिइन् । ०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार बनेकी डिना राप्रपाका सिंहसँग पराजित भइन् ।
त्यतिवेला गठबन्धन हुँदाहुँदै पराजय भोग्नुपरेपछि कांग्रेसकै आन्तरिक द्वन्द्वले पराजित हुनुपरेको डिनापक्षीय नेता कार्यकर्ताको निष्कर्ष थियो । यसपटक मकवानपुर कांग्रेस एकताबद्ध र बलियो बनेर मैदानमा उत्रिएको भन्दै जित सुनिश्चित रहेको उनको दाबी छ । ‘हिजो घरभित्रको व्यवहार हेरिएनछ,’ उनी भन्छिन्, ‘गठबन्धनको अंकगणितले अलि बढी विश्वस्त बनायो । आफ्नैभित्र विश्वास नगर्नु कमजोरी भयो । अहिले हामी एकढिक्का छौँ, म चुनाव जित्छु ।’
एमाले उम्मेदवार रामेश्वर राना सबैभन्दा अनुभवी र पाका नेताका रूपमा चिनिन्छन् । तत्कालीन मालेदेखि राजनीतिमा सक्रिय रानाले शालीन, त्यागी र संगठन बुझ्ने नेताको छवि बनाएका छन् । जिल्ला विकास समितिको सभापतिको अनुभव बोकेका रानाको संसदीय यात्राका लागि पहिलो परीक्षा हो ।
०७९ को निर्वाचनमा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गरे पनि अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेको चुनाव चिह्न दिएपछि राना ‘ब्याक’ हुनुपरेको थियो । यसपटक भने आफ्नै नेता उम्मेदवार बनेपछि एमाले कार्यकर्ता उत्साहित रहेको रानाको दाबी छ । ‘मकवानपुरमा एमालेको विगतको जस्तो अवस्था छैन । आफ्नै पार्टीको नेताले टिकट पाएपछि कार्यकर्ता निकै उत्साहित छन्,’ उनले भने, ‘कार्यकर्ताको मनोबल उच्च हुँदा मेरो जित सुनिश्चित छ ।’
राप्रपाका उम्मेदवार सिंह गत निर्वाचनमा पहिलोपटक विजयी भएका नेता हुन् । पटक–पटक चुनावी पराजय व्यहोरेपछि ०७९ मा २७ हजार ८१६ मत ल्याएर सिंहले जित हात पारेका थिए । उनले गठबन्धनकी उम्मेदवार डिनालाई दुई हजार ३८२ मतान्तरले पराजित गरेका थिए । गत निर्वाचनमा प्राप्त गरेको राजनीतिक विरासत जोगाउने चुनौतीसँगै सिंह पुनः चुनावी मैदानमा सक्रियता देखिएका छन् ।
नेकपा र रास्वपाका युुवा उम्मेदवार
मकवानपुर १ मा नेकपाबाट उम्मेदवार विजय गौतम नयाँ अनुहार हुन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रमुख स्वकीयसचिवको जिम्मेवारी सम्हालेका गौतम केन्द्रकै नेतृत्वको समर्थनमा टिकट पाएको आरोप जिल्लास्तरमा खेपिरहेका छन् । जिल्लाका केही नेताहरू असन्तुष्ट भए पनि नेकपाले युवा उम्मेदवार भएकाले युवामत आकर्षित हुने आकलन गरिएको छ । गौतम स्वयं भने जेन–जी आन्दोलनपछि मतदाताले नयाँ र युवा नेतृत्व खोजिरहेको भन्दै आफूलाई उम्मेदवार बनाइएको बताउँछन् । संसदीय निर्वाचन प्रक्रियामा यो उनको पहिलो सहभागिता हो ।
मकवानपुर १ मा यसपटक रास्वपा पनि प्रमुख दलका लागि चुनौतीका रूपमा देखिएको छ । रास्वपा मकवानपुरका उपसभापतिसमेत रहेका प्रकाश गौतम होटेल व्यवसायी हुन् । संगठन विस्तारमा सक्रिय रहेका उनी पनि संसदीय निर्वाचनमा नयाँ अनुहार हुन् । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जित हात पार्न नसके पनि रास्वपा समानुपातिकतर्फ मकवानपुरमा तेस्रो स्थानमा थियो । कुल एक लाख ७७ हजार ८५८ मतमध्ये रास्वपाले २९ हजार ८८९ मत पाएको थियो । यसपटक समानुपातिकतर्फ प्राप्त मतलाई प्रत्यक्षतर्फ समेत तान्ने रणनीतिमा रास्वपा लागेको छ । स्थानीय तहदेखि वडा–वडासम्म संगठन विस्तार गरिएकाले गौतम पुराना दलका उम्मेदवारका लागि चुनौती बन्न सक्ने देखिन्छ ।