त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमालाई ३ प्रश्न

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

 विश्वविद्यालयहरूमा तालाबन्दी, हडतालजस्ता समस्या किन बल्झिरहन्छन् ?
विश्वविद्यालयहरूलाई राजनीतिबाट टाढा राख्न नसक्नुको परिणाम हो यो । छिमेकी देशतिरका विश्वविद्यालयमा पनि पहिले यस्तै अवस्था थियो । तर, उनीहरूले ती विश्वविद्यालयहरूलाई राजनीतिबाट टाढा राखेर बढी स्वायत्त बनाउँदै गएपछि अहिले अवस्था धेरै सुधारिएको छ । विश्वविद्यालयहरूमा यति धेरै विद्यार्थी संगठन हुनुले पनि यो समस्या बल्झाउन सहयोग गरेको छ । एउटाभन्दा अर्को बढी क्रान्तिकारी देखिने उनीहरूको प्रतिस्पर्धाले पनि यस्तो भइरहेको छ । यस्तै अव्यवस्था रहिरहने हो भने भविष्यमा विश्वविद्यालयका पदाधिकारी बन्ने मान्छे पाउनसमेत मुस्किल पर्न सक्छ । 

 पठनपाठन र प्रशासनिक कार्य नै ठप्प पार्ने विरोधको विकल्प हुँदैन ?
विद्यार्थीले आफ्ना माग राख्नु गलत होइन । तर, यसरी शैक्षिक संस्थामा बन्द, हडताल नै गर्नुचाहिँ गलत हो र यस्ता क्रियाकलापलाई गैरकानुनी घोषित गरिनुपर्छ । माग राख्ने निहुँमा कसैले सिंहदरबारको गेटमा तालाबन्दी गर्न पाउँछ र ? अनि, यति धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयमा चाहिँ कसरी तालाबन्दी गर्न पाइन्छ ? विश्वविद्यालयको सिनेटमा विद्यार्थीका प्रतिनिधि पनि हुन्छन् । उनीहरूलाई विश्वास गरेर विद्यार्थीले उनीहरूमार्फत नै आफ्ना माग राख्नु ठिक हुन्छ । विद्यार्थी संगठनबिचको अस्वस्थ प्रतिस्पर्धाले हाम्रा विश्वविद्यालयहरूलाई ढुंगेयुगतिर लगिरहेको छ । 

 यस्ता विरोध कार्यक्रम दोहोरिन नदिन के गर्नुपर्ला त ?
यसका लागि सबैभन्दा पहिले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी या बन्द, हडताल गर्न पूर्णतः निषेध गर्नुपर्छ । यसका लागि सबै दल एकै ठाउँमा बसेर विश्वविद्यालयहरूलाई दलगत राजनीतिबाट पूर्णतः अलग राखी तिनलाई थप स्वायत्तता दिनुपर्छ । विगतमा राजनीतिक दलहरूले गरेको १२ बुँदे समझदारीजस्तै विश्वविद्यालयमा राजनीतिको छाया पर्न नदिने सहमति राजनीतिक दलहरूले गर्न सक्नुपर्छ । यसका लागि दलहरूले अग्रसरता लिऊन्, हामी आवश्यक सहजीकरण र सहयोग गर्न तयार छौँ । 

सुझावित समाचार