नेपालकी एरिका गुरुङले ऐतिहासिक पदकका रूपमा कराँते वान प्रिमियर लिगमा रजत हात पारेकी छिन् । टर्कीको इस्तानाबुलमा आइतबार राति भएको महिलतर्फ ६८ केजीमाथि तौल समूहमा एरिकाले काजकिस्तानकी सोफियाविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । एरिका पहिलोपटक प्रिमियर लिग वानको फाइनलमा प्रवेश गरेकी हुन् । तर, उनी अनुभवी खेलाडी सोफियाबाट ४–२ ले पराजित हुँदा रजतमै सीमित भइन् ।
स्वर्ण भिडन्तमा सोफियाले एकपक्षीय खेलमा ४–० को अग्रता लिएकी थिइन् । तर, खेल सकिन केही सेकेन्ड बाँकी रहँदा वाजिरियोको माध्यमबाट एरिकाले २ अंक बटुलिन् । यद्यपि, यो अंक उनलाई स्वर्ण जित्न काफी भएन । नेपालको कराँते इतिहासमा पहिलोपटक कुनै पनि खेलाडी विश्व कराँते महासंघले आयोजना गरेको कराँते वान प्रिमियर लिग सिजनको फाइनलमा पुगेको हो ।
यसअघि महिला ६८ केजीमाथि तौल समूहमा इंग्ल्यान्डकी राचेले वाल्टर्सलाई ४–१ ले पराजित गर्दै एरिका फाइनल पुगेकी हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले एरिकाले टर्कीमा ऐतिहासिक प्रदर्शन गरेको बताए । ‘स्वर्ण जित्दा अर्को इतिहास बन्ने थियो, तर रजत पदकमै सीमित भयो,’ कुशलले भने, ‘यद्यपि, फाइनलसम्मको यात्रा हाम्रो लागि ऐतिहासिक नै थियो । यहाँसम्म अहिलेसम्म कुनै पनि नेपाली खेलाडी पुगेका छैनन् ।’
एरिका नेपाली कराँते इतिहासकी सबैभन्दा सफल खेलाडी हुन् । उनले १९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । यसअघि उनले मोरोक्कोको कराँते वान प्रिमियर लिगमा कांस्य पदक (२०२५) जितेकी थिइन् । मलेसियाको कराँते वान सिरिज ‘ए’मा स्वर्ण पदक पनि हासिल गरिसकेकी छिन् । विश्वका शीर्ष खेलाडी सहभागी हुने यो प्रतियोगितामा नेपाली कराँतेका लागि महत्वपूर्ण अवसर रूपमा रहेको थियो । अब नेपाली टोलीले बेलायतको नवौँ हार्लो ओपन कराँते च्याम्पियनसिप प्रतिस्पर्धा गर्नेछ ।