गण्डकी प्रदेशबाट रिक्त राष्ट्रिय सभाका दुई सदस्यका लागि भएको मतदानमा नेपाली कांग्रेसका प्रा.डा. जगत तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएका छन्।
तनहुँका प्रा.डा. तिमिल्सिना ‘अन्य’ क्लस्टरबाट र मनाङकी देवकोटा ‘महिला’ क्लस्टरबाट निर्वाचित भएका हुन्। आइतबार सम्पन्न निर्वाचनमा कांग्रेस र एमालेले गठबन्धन गर्दा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोचाले एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए।
कांग्रेस र एमालेले गण्डकीमा एक–एक सदस्य लिने गरी गठबन्धन गर्दा नेकपाबाट अन्य क्लस्टरमा कास्कीका कपिल लामा र महिलातर्फ गोरखाकी गोमा घिमिरे रुचि तथा जनमोर्चाबाट अन्यमा कास्कीका शंकर बराल र महिलातर्फ बागलुङकी लक्ष्मी बाँस्कोटाले उम्मेदवारी दिएका थिए।
गण्डकीमा प्रदेश सभाका ५९ प्रदेश सभा सदस्यसँगै ८५ वटा पालिकाका प्रमुख–उपप्रमुख १६९ गरी कुल २२८ मतदाता छन्। त्यसमध्ये पाँचजना अनुपस्थित भएका प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। राप्रपाका दुई प्रदेश सभा सदस्य र स्थानीय तहका तीनजना मतदानमा अनुपस्थित भएका हुन्।
गण्डकीबाट तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ। रिक्त हुन लागेको दुई सदस्य निर्वाचित गर्नका लागि आइतबार मतदान भएको हो।