लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन गत मंसिर ८ गते देखि सुरु भएपछि नियमित हुन नसकेकोमा दुई महिनाभन्दा पनि धेरै दिनको अन्तरालमा यही माघ १३ गते बस्ने भएको छ । बर्खे अधिवेशन अन्त्य भएको दुई महिनापछि सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको दुई महिना ८ गते पूरा भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुनमगरले शनिबार एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक सभामुख तुलाराम घर्तीमगरको निर्देशनबमोजिम माघ १३ गते मंगलबार दिउँसो १ बजे बस्ने उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम उक्त दिन बैठक बस्ने सूचनामा उल्लेख गरिएको छ । सातौँ अधिवेशन सुरु भएको दिन मंसिर ८ गते एउटा मात्रै बैठक बसेको थियो ।