कृषि विकास बैंकले मनायो वार्षिकोत्सव

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

कृषि विकास बैंक लिमिटेडले ५९औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याए । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै यस बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्दै आएको उनको भनाइ थियो । 

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको बताए । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । 

वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक सुरुवातसमेत गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष ०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ । 

सुझावित समाचार