- टेस्ट राष्ट्रविरुद्धको पहिलो खेलमै ६ विकेटको जित निकालेपछि इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप खेल्ने नेपालको सम्भावना जीवितै
टेस्ट राष्ट्र जिम्बावेलाई पहिलो भेटमै ६ विकेटले हराउँदै नेपालले आइसिसी टी–२० ग्लोबल छनोटको सुपर सिक्स सम्भावना कायम राखेको छ । शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३० रनको लक्ष्य दिएको थियो ।
प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पहिलो जित निकाल्यो । यो प्रतियोगितामा नेपालले पहिलो जित निकाल्दै दुई अंक जोडेको छ । नेपालले अहिलेसम्म खेलेको यो नै सबैभन्दा ठुलो प्रतियोगिता हो । यत्तिको ठुलो प्रतियोगितामा पनि नेपालले पहिलो जित निकालेको छ ।
यसअघि नेपाल थाइल्यान्डसँग आठ विकेट तथा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । यता, जिम्बावे प्रतियोगिताबाट बाहिरिसकेको छ । पछिल्ला चारै खेलमा हार व्यहोरेको जिम्बावे अंकविहीन छ । समूह ‘बी’बाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ । यो समूहमा स्कटल्यान्ड र थाइल्यान्डले पनि दुई जित निकालेका छन् । स्कटल्यान्डले शनिबार नै थाइल्यान्डलाई पाँच विकेटले हराउँदै आफ्नो पनि सम्भावना बलियो बनाएको छ । अब, अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड सोमबार भिड्नेछन् । जुन खेलसँगै समूहमा तेस्रो हुने टोलीको टुंगो लाग्नेछ ।
पहिलोपटक नेपालमा आयोजना भएको ग्लोबल छनोटमा १० टिम सहभागी छन् । हरेक समूहमा समान पाँच टिम छन् । समूहका शीर्ष तीन टिम सुपर ६ मा सहभागी हुनेछन् । सुपर ६ का चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’मा बंगलादेशले सबै चार खेल नै जितेको छ । आयरल्यान्डले दुई खेल जित्दा अमेरिका र पिएनजीले समान एक खेल जितेका छन् । नामिबिया भने सबै तीन खेलमै पराजित भएको छ । सेमिफाइनलमा प्रवेश गरेका चार टिम नै पाँच महिनापछि वेल्स र इंग्ल्यान्डमा आयोजना हुने महिला विश्वकपमा स्थान बनाउनेछन् । विश्वकपमा यहाँबाट छनोट हुने चार गरी कुल १२ टिम सहभागी हुनेछन् ।
पूजाको सानदार प्रदर्शन
नेपालका लागि उपकप्तान पूजा महतोले अर्धशतक बनाइन् । उनले ५० बलमा चार चौका र दुई छक्कासहित सर्वाधिक अविजित ५२ रन बनाइन् । पूजाले चौका हान्दै नेपाललाई जित दिलाएकी थिइन् । कप्तान इन्दु बर्माले २३ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाइन् । ओपनर विन्दु रावलले १७ बलमा दुई चौकासहित १५ रनको योगदान गरिन् । सीता रानामगरले ११ रन जोड्दा हर्ट भइन् । नेपालका लागि इन्दु र पूजाले तेस्रो विकेटका लागि ३८ बलमा ३५ रनको साझेदारी गरेका थिए । यसअघि पहिलो विकेटका लागि विन्दु र सम्झना खड्काले २८ रनको साझेदारी गरेका थिए ।
यसअघि ओपनर सम्झना ख्ड्का नौ, कविता जोशी एक रन बनाएर आउट भएका थिए । यसअघि जिम्बावेका लागि ब्याटर केली एन्डलोभुको अविजित ५२ रन बनाइन् । चौथो नम्बर क्रिजमा आएकी एन्डलोभुले ३६ बलमा आठ चौका हिर्काएकी थिइन् । त्यस्तै, ओपनर विलोभ्ड बिजाले ३५ बलमा चार चौकासहित ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रनको योगदान गरे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिइन् । त्यस्तै, कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।