हेटौँडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सोप (साबुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हेटौँडा उपमहानगरपालिका– ८ स्थित औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योगमध्ये एक मानिने उक्त उद्योगको गोदाममा शनिबार राति साढे ११ बजेदेखि आगलागी भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गणका सुरक्षाकर्मी तथा स्थानीयवासी रातभर आगो नियन्त्रणमा लिने प्रयासमा खटिएका छन् । तर, आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीका अनुसार गोदाममा ठुलो परिमाणमा तयारी साबुन, कार्टुन तथा रासायनिक पदार्थ (केमिकल) भण्डारण गरिएकाले आगो निभाउन कठिनाइ भएको हो ।
‘गोदामभित्र तयार भएका साबुन र कार्टुन मात्र होइन, केमिकल पनि रहेकाले आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ उनले भने, ‘बिहानसम्म पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन ।’
आगलागीबाट के–कति क्षति भएको हो भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन विवरण संकलन गरिनेछ । प्रारम्भिक रूपमा गोदाममा रहेको विद्युत् तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए ।