पूर्वी नेपालमा ६ दिन बिताएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह शनिबार काठमाडौं फर्किएका छन्। ६ माघको मनोनयन दर्ताको क्रममा झापा गएका उनी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ हुँदै शनिबार काठमाडौं फर्किएका हुन्।
शुक्रबार तेह्रथुममा पार्टीका उम्मेदवार तथा कार्यकर्तासँग उनले छलफल गरेका थिए। निर्देशनका क्रममा उनले कुनै पनि दलका नेतालाई गाली गर्न समय नखर्चन भनेका छन्। उनले भने, ‘कसैलाई गाली नगर्नुहोला, कुनै पार्टीको कुनै नेतालाई गाली नगर्नुहोला, गाली गरेर काम छैन, गाली गरेर हुने पनि केही छैन, अरूलाई गाली गर्ने समयमा बरु आफूले के गर्न सकिन्छ त्यो कुरा राखिदिनुभयो भनेचाहिँ चुनाव राम्रै हुन्छ।’
काठमाडौं फर्किएपछि उनले चुनावको थप रणनीति बनाउने तयारी गरेका छन्। चुनावी प्रचारका लागि उनी विभिन्न जिल्ला जाने तयारी छ।
रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेतासँग प्रतिस्पर्धा गर्दै छन्।