श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय अचिभमेन्ट अवार्ड समारोहमा छिन्नमस्ता गाउँपालिकाका मेयर विद्यानन्द चौधरी ‘बेस्ट मेयर अवार्ड’बाट सम्मानित भएका छन्।
स्थानीय तहमा सुशासन प्रवर्द्धन, दिगो विकास, सामाजिक समावेशिता तथा जनउत्तरदायी नेतृत्वमा पुर्याएको उल्लेखनीय योगदानको मूल्याङ्कन गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
मेयर चौधरीको नेतृत्वमा छिन्नमस्ता गाउँपालिकाले पछिल्ला वर्षहरूमा विकास र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको स्थानीयवासीहरूको भनाइ छ। सडक, पुल, खानेपानी, विद्युत् जस्ता आधारभूत पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सरसफाइ क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिएको छ। विद्यालय सुधार, स्वास्थ्य चौकी सुदृढीकरण, निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ अभियान तथा डिजिटल सेवा प्रणाली लागू गरेर सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाइएको छ।
त्यसैगरी महिला, दलित, आदिवासी तथा पछाडि परेका समुदायको सहभागिता र पहुँच बढाउन विशेष कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ। युवालाई सीपमूलक तालिम, स्थानीय रोजगारी सिर्जना, कृषकलाई आधुनिक प्रविधि र अनुदानमार्फत सहयोग तथा पारदर्शी प्रशासन प्रणालीमार्फत गाउँपालिकालाई जनमैत्री बनाउने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरबाट समेत प्रशंसा गरिएको छ।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लाल यादवले मेयर चौधरीलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय अवार्ड छिन्नमस्ता गाउँपालिका मात्र नभई सम्पूर्ण सप्तरी जिल्ला र देशकै लागि गौरवको विषय भएको बताए।
अवार्ड ग्रहणपछि मेयर चौधरीले यो सम्मान सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकावासीको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनउत्तरदायी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।