सिराहाको मिर्चैया नगरपालिका- ७, तितरीगाछीनजिकै रहेको खोल्सीमा शुक्रबार दिउँसो महिलाको जलेको अवस्थामा शव फेला परेको छ। वस्तुभाउ चराउन गएका स्थानीयले खोल्सीमा शव देखेपछि तत्काल दिउँसो करिब १ बजेतिर प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दाले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर शव बरामद तथा घटनास्थल प्रकृति मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरेकाे जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
मिर्चैयाका प्रहरी निरीक्षक जीवकान्त चौधरीको कमान्डमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव सुरक्षित रूपमा नियन्त्रणमा लिएर शुक्रबार साँझ करिब साढे ६ बजेतिर पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महिलाको हत्या गरी शव जलाएर खोलामा फ्याँकिएको आशंका गरिएको छ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको र घटनाको कारण तथा दोषी पत्ता लगाउन थप अनुसन्धान भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। प्रहरीले स्थानीयसँगसमेत सोधपुछ गरिरहेको र घटनाबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।