- टी–२० आईमा पहिलोपटक सामना गर्न लागेको जिम्बावेलाई हराउँदा नेपाल समूह ‘बी’बाट सुपर सिक्समा पुग्ने सम्भावना
नेपालले त्रिवि क्रिकेट मैदानमा शनिबार आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा जिम्बावेविरुद्ध महत्वपूर्ण खेल खेल्दै छ । नेपालले जिम्बावेलाई हराउँदै शीर्ष तीन स्थानमा रहँदै समूह ‘बी’बाट सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नेछ । जिम्बावेसँगको हारले नेपालको सुपर सिक्समा पुगेर पहिलोपटक विश्वकप खेल्ने सपना समाप्त हुनेछ । यसैकारण नेपाललाई जिम्बावेविरुद्ध गर या मरको अवस्थामा छ । नेपालको महिला क्रिकेट इतिहासमा जिम्बावे नयाँ प्रतिद्वन्द्वी हो ।
यी दुवै टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन् । पहिलो तीन खेल गुमाएर सुपर सिक्सको दौड कमजोर बनाएको जिम्बावे आइसिसी टी–२० वरीयतामा नेपालभन्दा माथि नै छ । वरीयतामा जिम्बावे १५औँ र नेपाल २१औँ स्थानमा छ । नेपालको सुपर सिक्समा पुग्ने गणितीय आशा अझै बाँकी छ । नेपालले दुई खेल खेल्न बाँकी छ । जिम्बावेपछि नेपालको सामना स्कटल्यान्डसँग हुनेछ । स्कटल्यान्डले दुई अंक जोडेको छ । नेपालले स्कटल्यान्ड र जिम्बावेलाई स्तब्ध पारेको अवस्थामा रनरेटका आधारमा अगाडि बढन सक्छ ।
जिम्बावेसँगको खेल गुमाएको अवस्थामा भने नेपाल अन्तिम खेलअगाडि नै समूह चरणबाटै बाहिरिनेछ । जिम्बावेले आफ्नो प्रतिष्ठा रक्षा गर्न पनि उत्कृष्ट खेल देखाउनुपर्नेछ । घरेलु टोली नेपाल भने अगाडि बढ्न जितकै लागि खेल्नुपर्ने दबाब छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेट तथा नेदरल्यान्डसँग दुई रनले चुकेको थियो । नेदरल्यान्ड्ससँगको प्रतिस्पर्धामा नेपाललाई अन्तिम ओभरमा १३ रन आवश्यकता थियो । तर, अन्तिम ओभरमा नेपालले १० रन मात्र जोड्दा पहिलोपटक नेदरल्यान्ड्समाथि जित निकाल्ने अवसर गुमायो ।
स्कटल्यान्ड र थाइल्यान्डको नतिजामा निर्भर
नेपाल र जिम्बावेबिचको खेल शनिबार दोस्रो हो । यसअघि समूह ‘बी’मा स्कटल्यान्ड र थाइल्यान्डबिच बिहान हुनेछ । यस खेलको नतिजाले पनि नेपालको सुपर सिक्सको सम्भावना छिनोफानो हुनेछ । थाइल्यान्डको सुपर सिक्सको सम्भावना बलियो छ । थाइल्यान्डले स्कटल्यान्डलाई हराउँदा अगाडि बढ्नेछ । यस्तो नतिजामा स्कटल्यान्डको तीन खेलमा दुई हार हुनेछ । अंकतालिकामा दुई अंक रहनेछ । दिउँसो हुने खेलमा नेपालले जिम्बावेलाई स्तब्ध पार्दा नेपालको पनि तीन खेलमा दुई अंक नै हुनेछ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डको सामना गर्नेछ । यो खेलको विजेता नै समूह ‘बी’बाट सुपर सिक्समा पुग्ने तेस्रो टोली बन्नेछ । अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई हराउँदा चार अंकका साथ सुपर सिक्समा पुग्नेछ । तर, यस्तो समीकरण तयार हुन थाइल्यान्डले स्कटल्यान्ड र नेपालले जिम्बावेलाई हराउनुपर्नेछ ।
मध्यक्रम ब्याटिङमा समस्या
थाइल्यान्ड र नेदरल्यान्ड्ससँगको खेलमा नेपालको एउटै मात्र समस्या मध्यक्रम ब्याटिङ थियो । दुवै खेलमा नेपालका ओपनर विन्दु रावल र सम्झना खड्काले उत्कृष्ट सुरुवात दिलाएका थिए । अघिल्ला दुई खेलमा दुवै ओपनर आउट भएपछि मध्यक्रमका ब्याट्सम्यानले उत्कृृष्ट योगदान दिन सकेनन् । उत्कृष्ट सुरुवात तथा मध्यक्रमको फितलो प्रदर्शनका कारण नेपालले नेदरल्यान्ड्सलाई हराउन नसकेको हो । नेपाली टोलीकी पूर्वकप्तान रुविना क्षेत्रीले मध्यक्रम ब्याटिङबाट आशा गरेजस्तो योगदान नपाएको बताएकी थिइन् ।