बर्दियामा नेकपा एमालेका बागी उम्मेदवार नूतनकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पार्टीको उम्मेदवारविरुद्ध बागी उठेका चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन्।
एमालेले प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य विमला विकलाई उम्मेदवार बनाएको थियो। विकविरुद्ध बागी उम्मेदवार बनेका चौधरीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।
लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीले पार्टीको आधिकारिक उम्मेदवार विकलाई सहयोग गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। उनले भने, ‘मैले मेरो उम्मेदवारी फिर्ता लिएको छु। अब पार्टीको उम्मेदवारलाई मेरो सहयोग रहनेछ।’
त्यसैगरी, प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका बागी उम्मेदवार मोहनजंग पौडेलले भने आफ्नो उम्मेदवारी कायमै राखेका छन्। एमालेले यस क्षेत्रमा पार्टी जिल्ला अध्यक्ष शालिकराम अधिकारीलाई उम्मेदवार बनाएको छ।