आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्साका उम्मेदवारहरूमध्ये १३ जना ६० वर्षमाथिका रहेका पाइएको छ। क्षेत्र नम्बर १ र २ मा तीन–तीन, क्षेत्र नम्बर ३ मा एक र क्षेत्र नम्बर ४ मा ६ जना रहेका निर्वाचन कार्यालय पर्साले जनाएको छ।
निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका ६५ वर्षीय नन्दकिशोरप्रसाद श्रीवास्तव, नेपाल कम्युनिस्ट पार्टी संयुक्तका ७२ वर्षीय शंकरकुमार कर्ण र नेपाल लोकतान्त्रिक पार्टीका ६१ वर्षीय शालिकरामप्रसाद कानुले उम्मेदवारी दिएका छन्।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका ६२ वर्षीय अजयकुमार चौरसीया, जनता समाजवादी पार्टी नेपालका ६० वर्षीय अशोककुमार अग्रवाल र जय मातृभूमि पार्टीका ६२ वर्षीय वीरेन्द्रप्रसाद तथा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६८ वर्षीय सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।
६० वर्षमाथिका सबैभन्दा धेरै (६ जना) उम्मेदवार निर्वाचन क्षेत्र नम्बर ४ मा छन्। यस क्षेत्रमा एमालेका ७८ वर्षीय जालिम मियाँ मन्सुरी, नेपाली कांग्रेसका ६८ वर्षीय रमेश रिजालले उम्मेदवारी दिएका छन्। साताैँपटक उम्मेदवार बनेका रिजाल चारपटक निर्वाचित भइसकेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जयप्रकाश थारू पनि ६५ वर्षका छन्।
यसैगरी, स्वतन्त्रमध्ये ६७ वर्षीय पारस राउत बरै, ६२ वर्षीय इन्द्रदेवप्रसाद महतो र ६९ वर्षीय टीकाबहादुर गुरुङ पनि क्षेत्र नम्बर ४ बाटै उम्मेदवार छन्।