बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिए

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आज आफूनिकट नेताहरूसँग भएको छलफलपछि उनले चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका भट्टराईलाई उम्मेदवारी फिर्ता लिन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेलगायत नेताहरूले अभिभावकीय भूमिका खेल्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए। सोही आग्रहपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनको सचिवालय स्रोतले जनाएको छ।

गोरखा २ बाट यसअघि निर्वाचित भइसकेका भट्टराई ०७९ सालको निर्वाचनमा भने प्रचण्डलाई समर्थन गर्दै आफू उम्मेदवार नबन्ने घोषणा गरेका थिए। यसपटक पनि उनले चुनाव नलड्ने संकेत गर्दै आएका थिए। तर, मनोनयन दर्ता हुनुभन्दा दुई दिनअघि मात्रै निर्णय बदल्दै गोरखा पुगेका थिए।

उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा भने भट्टराईले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

गोरखा २ मा अब नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतका उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।

सुझावित समाचार