चुनाव प्रचारप्रसारका लागि सर्लाही आउँदै कांग्रेस सभापति थापा

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

आसन्न निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगन थापा आइतबार सर्लाही आइपुग्ने भएका छन् । 

यहाँको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका सभापति थापा मतदातासँग भेट्न सर्लाही आउन लागेका हुन् । थापा आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाडेर सर्लाहीको ४ आइपुग्नुलाई समेत विशेष महत्त्वका साथ हेरिएको छ ।

सभापति थापाले मनोनयनपत्र कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको वारेसमा दर्ता गराएका हुन् । सुरुमा मनोनयन दर्ताका लागि थापा स्वयं उपस्थित हुने चर्चा गरिएको भए पनि अन्तिमा उनी उपस्थित हुन सकेनन् ।

यता यस क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । कांग्रेसी राजनीतिसँग चिरपरिचित सिंह कांग्रेस उम्मेदवारसँग दोस्रोपटक मैदानमा उत्रिँदै छन् । ०७९ को चुनावमा सिंह स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । यस पहिलाको निर्वाचनभन्दा यसपटकको चुनावमा आफ्नो जनमत बढ्ने उनले दाबीसमेत गरे ।

यसपटक जसरी भए पनि आफू विजयी हुने सिंहको दाबी छ । कांग्रेसका उम्मेदवारले  कसैगरी पनि जनमत बटुल्न नसकेपछि सभापति आफैँ मैदानमा उत्रिएका सिंहले प्रतिक्रिया दिए । तत्कालीन सर्लाही क्षेत्र नम्बर ६ बाट दोस्रो संविधानसभा निर्वाचमार्फत संसद् यात्रा तय गरेका सिंह त्यसपछि यस क्षेत्रमा एकछत्र जनमत बटुल्न सफल भएका छन् । 

०७४ मा कांग्रेसबाट विजयी भएका उनले ०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयको माला पहिरिए । ०७४ मा सिंहले निकटतम प्रतिस्पर्धी राकेशकुमार मिश्रलाई एक हजार ५३९ मतान्तरले पराजित गरेका हुन् । सिंहले त्यतिवेला नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । यस निर्वाचनमा उनको पक्षमा २९ हजार ६७५ मत प्राप्त भएको थियो भने मिश्रले २८ हजार १३६ मत मात्र प्राप्त गरे । 
मिश्रले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवारी दिएका थिए । यस क्षेत्रमा ०७४ मा ५९ हजार ३१२ मत सदर भएको थियो । क्षेत्र नम्बर ४ रास्वपाका उम्मेदवार सिंहका लागि सामान्य भए पनि सभापति थापाको लागि नयाँ हुनेछ । त्यसकारण यहाँको वस्तुस्थिति बुझन सभापति थापालाई समय लाग्ने जानकारहरू बताउँछन् ।

यस क्षेत्रका नागरिकलाई अहिलेको चुनावले खासै नछोए पनि नेता तहमा निकै चर्चा हुन थालेको छ । चिया तथा भट्टी पसलहरूमा समेत आसन्न चुनावी गफले माहोल गरम बन्न थालेको छ । नेपाली कांग्रेसका सभापति थापाले सर्लाही झरेर उम्मेदवारसँगको भेटघाटलाई तीव्र बनाउने स्राेतको दाबी छ ।

सिंहले ०७९ मा भने कांग्रेसबाट टिकट पाएनन् । त्यसपछि स्वतन्त्र उम्मेदवारी दर्ता गएका उनको जनमत केही घटेको थियो । तैपनि उनलाई विजयी हुन फेरि पनि कसैले रोक्न सकेन । सिंहले स्वतन्त्र उम्मेदवारी दिँदासमेत २० हजार १७ मत प्राप्त गरे । उनको निकट देखिएका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३  मत मात्र प्राप्त गरे । 

०७९ मा यस क्षेत्रमा ६९ हजार २८३ मत सदर भएको थियो । सिंह र नागेन्द्र कुमारको प्रतिस्पर्धालाई दिशा दिने मत भने सोही क्षेत्रका प्रभावशाली नेता शिवपुजन यादवको पकडमा देखिँदै आएको छ । समयअनुकूल फरक–फरक पार्टीमा देखिने यादवकाे मत ०७४ मा बाँडिएको थियो । तर, यो मत ०७९ मा भने आफ्नै उम्मेदवार मधुमालाकुमारी यादवसँग थियो । मधुमाला सम्बन्धमा नेता यादवको छोरी हुन् । उनले समेत ०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । यसपटक यस क्षेत्रको चुनावी माहोल केही फरक बनेको छ । नेकपा माओवादी केन्द्र हुँदै नेपाली कम्युनिस्टका नेता बनेका यादवले माग गरेअनुसार आफ्ना छोराका लागि टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।

यादवले नै नेकपा एमाले प्रवेश गरी टिकट लिएर छोरा रजनीशकुमार यादवलाई उम्मेदवार बनाएका छन् । त्यति मात्र हाेइन, यादवकी छोरी मधुमालाकुमारी यसपटक पनि स्वतन्त्र उम्मेदवार बनेकी छिन् । यस घटनाक्रमले समेत यहाँको निर्वाचन थप रोमाञ्चक बन्ने आकलन गरिएको छ । 

यस क्षेत्रमा बहुजन एकता पार्टी (एकल चुनाव चिह्न)मा हरिनन्दनकुमार रञ्जन, जनता समाजवादी पार्टीबाट रामेश्वर राय यादव, नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट रामनाथप्रसाद साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रामचरित्र सहनी, जनमत पार्टीबाट राकेशकुमार मिश्र, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीपकुमार झा, उज्यालो नेपाल पार्टीबाट पीताम्बर सिंह कुसवाह, नेपाली कांग्रेसबाट गगन थापा, राष्ट्रिय मुक्ति पार्टीबाट उदयकान्त मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अमरेशकुमार सिंह, नेपाली कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बाट अमनिशकुमार यादवलगायतले उम्मेदवारी दिएका छन् ।  ३१२ मतदानस्थल तोकिएको यस जिल्लामा ६२८ मतदान केन्द्रबाट एक लाख २१ हजार १२ जना मतदाताले मतदान गर्ने भएका छन् । 

सुझावित समाचार