जाँचबुझ आयोगको म्याद २० दिन थप
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद दोस्रोपटक थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका नवनियुक्त प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
रेशम चौधरीको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति नेपाल पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। चौधरीले कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारीविरुद्ध उजुरी परेकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले चौधरीको उम्मेदवारी खारेज भएको जानकारी आयोगमा प्राप्त भएको नयाँ पत्रिकालाई बताए।
सिद्धार्थ राजमार्ग सुधारका लागि २० लाख डलर अनुदान सहायता स्वीकार
सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि दुई मिलियन (२० लाख) डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट दुई मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्यो ?
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। जसमध्ये तीन निर्णय सार्वजनिक गरिएको छ। आजको बैठकले अनुदान सहायता स्वीकार, जाँचबुझ आयोगको म्याद र सरकारको प्रवक्ताको जिम्मेवारीलगायतका विषयमा निर्णय गरेको छ।
फागुनको पहिलो साताभित्र देशभर मतपत्र पुग्छ : निर्वाचन आयोग
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र फागुनको पहिलो साताभित्र देशभर पुर्याइसक्ने जनाएको छ। आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गरिनेछ । त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छपाइ प्रक्रिया सुरु हुनेछ।
नेप्से नौ अंकले बढ्दा नौ अर्बभन्दा बढीको कारोबार
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। बिहीबार नेप्से ९.२३ अंकले बढेर दुई हजार ७१४.६१ विन्दुमा कायम भएको हो। आज ३३२ कम्पनीको एक करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब सात करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बुधबार नेप्से नौ अंकले घट्दा आठ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
राप्ती राजमार्ग आजदेखि दैनिक पाँच घण्टा बन्द
राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखन्ड आजदेखि दैनिक पाँच घण्टा बन्द भएको छ। पैयाँखोरियादेखि राम्रीसम्म सडक स्तरोन्नतिको काम गर्नका लागि आजदेखि २५ गतेसम्म दैनिक पाँच घण्टा सडक पूर्ण रूपमा बन्द गरिएको हो। बिहान ११ बजेदेखि ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहने सडक डिभिजन कार्यालय दाङले जनाएको छ। सो अवधिमा वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले यात्रु तथा सवारीसाधनलाई आग्रह गरेको छ।
सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोकेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो। खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर– २ बाट रास्वपाको उम्मेदवार बनेका छन्।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित
नेपाललाई दुई रनले हराउँदै नेदरल्यान्ड्सले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार तेस्रो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले २० ओभरमा १३८ रन बनाएको हो।
छैटौँ टाइगर कप भलिबल प्रतियोगिता भोलिदेखि
छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलि शुक्रबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ ६ गरी ११ टिम प्रतिस्पर्धा गर्ने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ ।