छैटौँ टाइगर कप भलिबल प्रतियोगिता भाेलिदेखि

महिलातर्फ पाँच र पुरुषतर्फ ६ गरी ११ टिम प्रतिस्पर्धामा

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलि शुक्रबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ ६ गरी ११ टिम प्रतिस्पर्धा गर्ने आयोजक  टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ । 

प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने र सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उद्घाटन खेलमा गण्डकी प्रदेश भलिबल संघ र विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबको पुरुष टिम भिड्ने छन् । योसँगै शुक्रबार तीन खेल हुने आयोजक गुप्रका अध्यक्ष नारायण शर्माले बताए । पुरुषतर्फ पाहुना टोली मालदिभ्स र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँगै महिलातर्फ टिप–टप न्यू डायमण्ड स्पोर्टस् क्लब र आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

१७ माघसम्म सञ्चालन हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगितामा नेपालका नौ र दुई विदेशी टिमले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ थाइल्याण्ड क्विन्स र पुरुषतर्फ मालदिभ्सको टिमको सहभागिता रहेको शर्माले जानकारी दिए ।

प्रतियोगितामा नेपालका टिमहरू महिलातर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, टिपटप न्यू डामण्ड स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्दा पुरुषतर्फ तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लबसँगै गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघले प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले जानकारी दिए । 

आयोजकले छैटौँ संस्करणमा पुरस्कार राशि समेत वृद्धि गरेको छ । प्रतियोगिता आयोजक समितिका सह संयोजक एंव प्रचार प्रसार संयोजक डोलराज पोखरेल (डिआर)का अनुसार महिला तथा पुरुष दुबैतर्फका विजेताले ६ लाख ६६ हजार ६६६, उपविजेताले तीन लाख ६६ हजार ६६६, तेस्रोले दुई लाख ६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । यसअघि पाँचौँ संस्करणमा दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार ५५५, दोस्रोले समान दुई लाख ८५ हजार ५५५ र तेस्रोले समान एक लाख ८५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ नगद पाउँदा विधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, ब्लकर, सर्भर, डफेन्डर र प्रशिक्षकले समान ११ हजार ६६६ नगदसँगै ट्रफी र प्रमाणपत्र पाउने छन् । 

यसअघि महिलातर्फ पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले हात पार्दा त्यसपछिका क्रमशः दोस्रो, तेस्रो र चौथो गरी तीन संस्करणको उपाधि हात पार्दै एपिएफले ह्याट्रिक गरेको थियो भने पाँचौँमा आयोजक टोलीले उपाधि चुमेको थियो । पुरुषतर्फ पहिलो संस्करण गण्डकी, दोस्रोमा आर्मी, तेस्रोमा गण्डकी, चौथोमा हेल्प नेपाल स्पोर्टस् क्लब र पाँचौमा नेपाल पुलिस क्लबलले उपाधि हात पारेका थिए ।
 

सुझावित समाचार