प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका २३ जना उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेन। निर्वाचन आयोगको कार्यतालिकाअनुसार बुधबार उम्मेदवारका विरोधमा उजुरी दिने र बिहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय रहे पनि कसैका विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त समयमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नआएपछि सबै उम्मेदवार योग्य ठहरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागलुङ क्षेत्र नम्बर १ मा ११ दलका ११ जनाले उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर २ मा १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
क्षेत्र नम्बर १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिस्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, कांग्रेसका भीमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए।
नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर २ मा कांग्रेसबाट टेकराज पौडेल, एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी) का लोकेन्द्र घिमिरेले उम्मेदवारी दिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेसनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।