हेटौँडा उपमहानगरपालिका–१७ मा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । ११ हजार भोल्टेज प्रवाह भइरहेको विद्युत् पोलमा चढेर ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मनहरी गाउँपालिका–५, वसन्तपुरका २७ वर्षीय नीरज भनिने आदर्श भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो।
घटना बिहीबार दिउँसो हेटौँडा–१७ स्थित सानो गंगटेमा भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएका भट्टराईलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्कर बोगटीले जानकारी दिए।
स्थानीयले भने विद्युत् प्रवाह बन्द नगरी काममा खटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण भट्टराईको ज्यान गएको आरोप लगाएका छन्। आवश्यक सुरक्षा मापदण्ड अपनाइएन र जोखिमपूर्ण अवस्थामा काम गराइएकाले घटना भएको उनीहरूको दाबी छ।
प्रहरीका अनुसार मृतक भट्टराई ज्यालादारीमा काम गर्ने कर्मचारी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, विद्युत् प्राधिकरणको तर्फबाट सुरक्षासम्बन्धी मापदण्ड पालना गरिएको वा नगरिएको विषयमा छानबिन गरिने जनाएको छ। घटनापछि स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र जिम्मेवार निकायमाथि छानबिन तथा कारबाही गर्न माग गरेका छन्।