स्टेजलाई प्रस्तुतिको माध्यम बनाउने दुर्गेश थापा

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

चर्चित स्टेज पर्फर्मर दुर्गेश थापाका प्रस्तुतिहरूले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ बहस र मापदण्ड सिर्जना गरेका छन् । स्वरको दम मात्र होइन, कलाकारको स्वभाव, ऊर्जा र संगीतप्रतिको इमानदारिताले पनि प्रस्तुति अब्बल बन्छ भन्ने सन्देश उनले आफ्ना स्टेज व्यवहारमार्फत दिएका छन् । धेरै कलाकारहरू स्टेजमा बोलाइएपछि लामो भाषण गर्ने, तर्क–बहसमा अल्झिने, आफ्ना संघर्ष र सफलता सुनाउँदै आयोजकको प्रशंसामा समय खर्चिने गर्छन् । तर, दुर्गेश थापा यी सबैभन्दा भिन्न छन् । उनी स्टेजलाई भाषणको मञ्च होइन, प्रस्तुतिको माध्यम ठान्छन् ।

कलाकारहरू स्टेजमा पुगेपछि तयारी गर्ने, गीत सम्झिने, म्युजिक ट्र्याक प्ले हुन्छ कि हुँदैन भनेर समय खर्च गरेको देख्दा उनलाई असहज लाग्छ । ‘स्टेज लाइभ साे हो, यसमा झन् तयारी हुनुपर्छ,’ उनी भन्छन् । कलाकारका लागि टिकट काटेर आएका दर्शक भाषण सुन्न नभई मनोरञ्जनका लागि आउने भएकाले प्रस्तुतकर्ताले त्यो ख्याल गर्नुपर्ने उनको धारणा छ । उनका गीतहरू सन्देशभन्दा बढी मनोरञ्जनका लागि हुने भएकाले गीतअनुसार सबै उमेर समूहका दर्शकलाई प्राथमिकता दिएर उनीसँगै रमाउने गर्छन् ।

दुर्गेश थापा भन्छन्, ‘दर्शक टिकट काटेर गफ सुन्न आएका हुँदैनन् । उनीहरू संगीत, ऊर्जा र अनुभूति खोजेर आउँछन् । कलाकारको काम भनेको स्टेजमा पुगेपछि आफूलाई होइन, गीत र दर्शकलाई अगाडि राख्नु हो ।’ तिलोत्तमा महोत्सवमा दुर्गेशको प्रस्तुति हेरेकी दर्शक उमा अधिकारीका अनुसार दुर्गेश स्टेज चढ्नासाथ माहोल परिवर्तन हुन्छ । 

स्टेज कार्यक्रम तथा मेला–महोत्सवमा कलाकारको संयोजन गर्दै आएका सन्तोष पौडेलका अनुसार दुर्गेश थापा स्टेजको मूल्य बुझ्ने कम कलाकारमध्ये पर्छन् । कलाकार वसन्त थापाले पनि दुर्गेश थापाको प्रस्तुतिलाई फरक र परिपक्व बताउँछन् । दुर्गेश थापाको स्टेज इन्ट्री रक शैलीको भए पनि उनका शब्द, व्यवहार र प्रस्तुति सधैँ दर्शकप्रति सम्मानजनक देखिन्छन् । अनावश्यक बोलीभन्दा गीतमार्फत संवाद गर्ने उनको शैलीले भिडमा पनि उनलाई अलग पहिचान दिलाएको छ ।

स्वर मात्र होइन, स्वभाव, ऊर्जा र संगीतको संयोजनबाट कलाकारको प्रस्तुति अब्बल बन्छ भन्ने उदाहरणका रूपमा दुर्गेश थापाको स्टेज प्रस्तुतिलाई लिन सकिन्छ । यही कारण उनका कार्यक्रमहरू मनोरञ्जन मात्र नभई अन्य कलाकारका लागि पाठसमेत बन्दै गएका छन् ।

दुर्गेश थापाले माघ १० गते ‘नाच नाच भाइ नाच’ बोलको नयाँ गीत सार्वजनिक गर्दै छन् । उनका अनुसार यो गीत आफ्नै सफलतासँगको प्रतिस्पर्धा हो । गीतमा दुर्गेशसँगै राजेशपायल राई, भियोमा र वर्षा इटानीलगायत कलाकारको भूमिका रहेको छ ।
 

सुझावित समाचार