नेपाल साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि दौडबाट बाहिरिएको छ । नेपालले थाइल्यान्डको बैंककमा बुधबार आफ्नो पाँचौँ खेलमा पाकिस्तानलाई ५–१ ले हराउँदा पनि फाइनल पुग्ने सम्भावना बलियो पार्न सकेन ।
पहिलो संस्करणको साफ महिला फुटसलमा बंगलादेश शीर्ष स्थानमा छ । बंगलादेशले चार खेलबाट १० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको भारतले ९ अंक जोडेको छ । यी दुवै टोली उपाधि दौडमा पुगिसकेका छन् । नेपालले पाँच खेलबाट ७ अंक बटुलेको छ ।
यो अंक फाइनल पुग्न पर्याप्त भएन । शीर्ष स्थानमा रहेका बंगलादेश र भारतले अझै पनि दुई खेल खेल्न बाँकी छ । नेपालभन्दा अगाडि पाकिस्तान अन्तिम दुईमा रहँदै फाइनलमा पुग्ने सम्भावनाबाट बाहिरिएको थियो । नेपालले अन्तिम खेलमा भुटानको सामना गर्नेछ । भुटानलाई हराउँदा नेपालले भारतसँगको अंक बराबरी गर्नेछ । तर, गोलअन्तरमा नेपाल पछि नै छ । प्रतियोगितामा पाकिस्तानको सम्भावना सकिसकेको छ ।
पाकिस्तानले पनि ७ अंक जोडेको छ । पाकिस्तान नेपालभन्दा गोलअन्तरमा पछाडि रहेको छ । साफ महिला फुटसलमा सहभागी राष्ट्रमध्ये भुटानले ५ र श्रीलंकाले १ अंक जोडेको छ । माल्दिभ्सले तेस्रो खेलसम्म खाता खोलेको छैन । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । अन्तर्राष्ट्रिय फुटसलमा पहिलो जित निकाल्ने क्रममा नेपाल माल्दिभ्सविरुद्ध ५–० ले विजयी रह्यो । तेस्रो खेल नेपाल र भारतबिच भएको थियो ।
जसमा नेपाल एकपक्षीय प्रतिस्पर्धामा भारतबाट ८–१ ले पराजित भयो । चौथो खेलमा बंगलादेशले नेपाललाई ३–० ले हरायो । उपाधि जित्ने लक्ष्यका साथ बैंकक पुगेको नेपाल शीर्ष दुईमा रहन नसक्दा कप्तान दीपा राईले अर्कोपटक राम्रो तयारीका साथ आउने बताइन् । ‘पहिलो संस्करणमा उपाधि जित्ने लक्ष्यका साथ आएका थियौँ, तर हामीले योजना पूरा गर्न सकेनौँ । कप्तानका रूपमा समर्थकसँग माफी माग्छु,’ उनले भनिन् ।