फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि राजेन्द्र महतो र महेन्द्र राय यादव आमनेसामने हुने भएका छन्।आसन्न निर्वाचन प्रयोजनका लागि भएको मनोनयन दर्तामा दुवैजनाले फेरि एकै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। नेता महतोले मंगलबार राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराए। उनी पार्टीको केन्द्रीय अध्यक्षसमेत हुन् भने नेता यादवले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
दुवै नेता पार्टीका कार्यकर्तासहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा परिसरमा पुगेका थिए। उनीहरूको उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी माहोलसमेत निकै रोमाञ्चक बन्ने स्थानीय राजनीतिज्ञहरूले आकलन गर्न थालेका छन् । नेता महतो र यादव ०७९ को निर्वाचनमा समेत आमनेसामने भएका थिए।
उक्त चुनावमा महेन्द्र राय यादवले राजेन्द्र महतोलाई हराएका थिए ।
पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेका महेन्द्र राय यादवले यसपटक पनि नागरिकको आग्रह र देशलाई विषम परिस्थितिबाट पार लगाउने उद्देश्यसहित उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिए भने पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले पाँचपटक विभिन्न मन्त्रालय सम्हालिसकेका छन्।
यसपटक सर्लाही २ नम्बर क्षेत्रको चुनावी मैदानमा अन्य उम्मेदवारहरू पनि होमिएका छन्। नेपाली कांग्रेसबाट डाक्टर सरोज कुमार, नेकपा एमालेबाट धर्मेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन महतो, जनमत पार्टीबाट विपिन यादव यस क्षेत्रमा चुनावी मैदानमा होमिएका छन्। यहाँका अन्य उम्मेदवारभन्दा महतो र यादवको चुनावी प्रतिस्पर्धालाई निकै महत्त्वका साथ हेरिएको छ ।