निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्पष्टीकरण सोधेको छ। झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ मा एमाले आध्यक्ष केपी ओलीको मनोनयन दर्तामा सहभागी भएपछि आयोगले मुख्यमन्त्री कार्कीसँग स्पष्टीकरण मागेको हो।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत रहेको औंल्याउँदै आयोगले तीन दिनभित्र जवाफ पेस गर्न भनेको छ।
‘प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मुख्यमन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क)को उल्लंघन हुने देखिएकोले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारमा लेखिएजस्तो मनोनयन कार्यक्रममा तपाईं सहभागी हुनु भएको हो वा होइन ? यस पत्र प्राप्त भएको तीन दिनभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्णयानुसार अनुरोध छ,’ आयोगले भनेको छ।
