दी एक्सेल्सियर स्कुल नेपाल ओपन इन्टरनेसनल फुसबल प्रतियोगिता सम्पन्न भएको छ । दी एक्सेल्सियर स्कुलको हलमा भएको तीन दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, चीन र अमेरिकालगायत विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
सात विभिन्न टोलीबाट समग्रमा सयभन्दा बढी प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा १३ वटा विभिन्न विधामा सात सयभन्दा बढी खेल खेलाइएको थियो ।
यसअघि प्रतियोगिताको उद्घाटन नेपाल टेबल फुसबल एसोसिएसनका अध्यक्ष राम बस्नेत र अमेरिकाको कोलोराडोबाट प्रतिस्पर्धा गर्न आएका ६६ वर्षीय खेलाडी कार्ल फ्लेइसरले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय टेबल सकर महासंघले समेत मान्यता दिएको थियो । अध्यक्ष बस्नेतले नेपालमा फुसबल खेलको आगामी योजना र सम्भावनाका बारेमा बताएका थिए ।