दुई पूर्वआइजिपीसहित ६ अवकाशप्राप्त प्रहरी चुनावी मैदानमा

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका दुई आइजिपी ध्रुवबहादुर प्रधान र सर्वेन्द्र खनालसहित अवकाशप्राप्त ६ प्रहरी पनि चुनावी मैदानमा छन् । प्रधान राप्रपाबाट नवलपरासी २ मा उम्मेदवार बनेका छन् । यसअघि पनि उनी सांसद भइसकेका छन् । 

त्यस्तै, समुन्नत नेपाली पार्टीका सभापति रहेका पूर्वआइजिपी खनालले बारा ४ बाट उम्मेदवारी दर्ता गरेका छन् । अघिल्लोपटक उनले एमालेबाट चुनाव लडेका थिए । रास्वपाबाट चार पूर्वप्रहरी अधिकारी चुनावी मैदानमा छन् ।

पूर्वएआइजी विश्वराज पोखरेल ओलखढुंगाबाट प्रतिस्पर्धामा छन् । उनी दुई महिनाअघि रास्वपा प्रवेश गरेका हुन् । त्यस्तै, पूर्वएसएसपी विक्रमसिंह थापा कपिलवस्तु २ बाट प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनावमा उनले कांग्रेसबाट प्रदेश सभामा प्रतिस्पर्धा गरेका थिए । गुल्मी २ मा रास्वपाले पूर्वडिएसपी गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी एक वर्षअघि मात्र अवकाश पाएका अधिकृत हुन् ।

त्यस्तै, पूर्वनायब निरीक्षक शम्भु ढकाल (सुस्केरा) झापा ४ बाट उम्मेदवार बनेका छन् । सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ यसपटक राप्रपाको समानुपातिक सूचीमा छन् । अघिल्लो निर्वाचनमा उनले काठमाडौं ४ बाट चुनाव लडेका थिए ।

सुझावित समाचार