आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट दुईजना बागीसहित ३१ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा देवराज राेका उर्फ कल्याणले नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा मेजरकुमार राईले नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। राईले लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर बागी उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’ र क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई आधिकारिक उम्मेदवार छन्। दुवै बागी उम्मेदवार यसअघि पार्टीको आधिकारिक टिकटको दाबेदार थिए।
दुवै क्षेत्रबाट ३१ जनाको उम्मेदवारी
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख मुकेश उपाध्यायका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १८ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट खड्गबहादुर खत्री, स्वतन्त्रबाट देवराज राेका उर्फ कल्याण, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नेपाल जनमुक्ति पार्टीबाट गोर्कण राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल छन्।
यसैगरी नेकपा एमालेबाट दुर्गाकुमार थापा ‘स्वतिक’, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, नागरिक सर्वोच्च पार्टीबाट प्रशान्तकुमार राई, नेपाली जनता दलबाट किशोर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाली कम्युनिस्ट पार्टीबाट बलदेव चौधरी, नेपाली कांग्रेसबाट विदुर बस्नेत, मंगोल अर्गनाइजेशन पार्टीबाट बद्रीविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि गेलाल छन्।
यता नेकपा माओवादीबाटबाट अमृतबहादुर खत्री, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, राष्ट्रिय जनमोर्चाबाट तिलक राई र उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङले उम्मेदवारी दिएका उपाध्यायले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तर्फ १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयका सूचना अधिकारी नारायण थापाले जानकारी दिए। नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, आम जनता पार्टीबाट बमबहादुर मगर, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ र स्वतन्त्रबाट मेजरकुमार राई उम्मेदवार रहेका छन्।