फागुन २१ गतेका हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति बागलुङ क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय रहेको थियो। उक्त समयमा ११ राजनीतिक दलका ११ जना उम्मेदवारीले आफ्नो मनोनयन दर्ता गराएका छन्।
क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगाेल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिस्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए।
त्यसैगरी, नेसनल रिपब्लिक नेपालका सहवीर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन कार्यालयले सोमबार सर्वदलीय बैठक राखेर दलहरूलाई समय निर्धारण गरेको थियो । सोही समयअनुसार दलहरूले आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराएका थिए। क्षेत्र नं. २ मा भने दिउँसो ४ः३० सम्म ९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारको समय बाँकी रहेको हुँदा लाइन रहेको हुँदा कतिजना आएको भन्ने ५ बजे मात्र थाहा हुने सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।