स्याङ्जामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार मंगलबार दिउँसो अन्दाजी २ः२० बजेको समयमा वालिङ नगरपालिका– ७ धोडेपानीस्थित वालिङ चापाकोट पक्की सडक खण्डमा वालिङबाट ढुंगा लिई चापाकोटतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो।

सडकमा गुडिरहेको अवस्थामा लु. ३ त. ५१७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकदेखि करिव १० मिटर तल खोल्सामा खसेको चौधरीले जानकारी दिए। ट्याक्टरमा चालकसहित ६ जना सवार रहेकोमा दुईजनाको मृत्यु भएको र चारजना घाइते भएका उनले बताए।

मृत्यु हुनेहरूमा वालिङ– ७ केवरे बस्ने ६५ वर्षका डोलराज कोइराला र कैलाली टिकापुर नगरपालिका– ७ बस्ने ३५ वर्षका राजकुमार चौधरी रहेका छन्। दुर्घटनामा परी घाइते भएका उनीहरूलाई उपचारका लागि प्राथमिक स्वाथ्य केन्द्र वालिङ पठाइएकोमा इसिजी गरेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी केवरे स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक नेत्रबहादुर कुमालको कमान्डमा टोली खटिई गएको थियो। सोही टोलीले स्थानीय एवं अन्यको सहयोगमा घाइतेहरुलाई अस्पताल पुर्याएको थियो।

सुझावित समाचार