शतप्रतिशत जितसहित अभिक च्याम्पियन

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल बुद्धिचालका च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । 

हिमालयन च्यालेन्जर्स क्लासिकल बुद्धिचालमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनसम्म रोमाञ्चक प्रतिस्पर्धापछि द ब्रिटिस कलेजका सजल न्यौपाने १९ अंकका साथ उपविजेता र संस्कार गुरुकुल स्कुलका आशीर्वाद थापा १८ अंकका तेस्रो स्थानमा रहे ।

शीर्ष वरीयताका अभिकले क्लासिक बुद्धिचाल खेल्न पाउनु ठुलो पक्ष भएको बताए । ‘ब्लिज र र्यापिडपछि अहिले क्लासिकल बुद्धिचाल प्रतियोगिता खेल्न पाउनु नै ठुलो कुरा हो । मैले पहिलोपल्ट लगातार नौ दिन खेल्न पाएँ,’ अभिकले भने, ‘सबै खेल जिते पनि प्रतिस्पर्धा रोचक रह्यो । म र अरू युवा खेलाडीको स्तरवृद्धिका लागि क्लासिकल महत्वपूर्ण छ ।’

१७ वर्षीय अभिक हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसइई कपको विजेता पनि हुन् । स्विस लिग प्रणालीअनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रतापसिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकलाई हराउँदै उपाधि हात पारेका थिए । उनले सर्वाधिक २७ अंक जोडेका थिए । 

सुझावित समाचार