आइसिसी पुरुष टी–२० विश्वकप : बंगलादेश भारत नगए स्कटल्यान्डले मौका पाउने

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेशलाई आसन्न टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा भारतमा गएर खेल्ने वा नखेल्ने अन्तिम निर्णय लिन बुधबारसम्म समयसीमा दिएको छ । आइसिसीका दुई वरिष्ठ प्रतिनिधि र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)बिच शनिबार ढाकामा भएको वार्ता निष्कर्षविहीन भएको थियो । त्यसपछि आइसिसीले बंगलादेशलाई पूर्वघोषित कुनै खेल स्थल परिवर्तन नहुने भनी अन्तिमपटक चेतावनी दिँदै भारत जाने वा नजाने निर्णय गर्न भनेको हो । 

बंगलादेश भारतमा नजाँदा स्कट्ल्यान्डले मौका पाउने आइसिसीले भनेको छ । ‘बिसिबीको निर्णयको हामी प्रतीक्षामा छौँ । सुरक्षाको कारण देखाउँदे बंगलादेशले भारतमा नभएर श्रीलंकामा खेल्न पाउनुपर्छ भनेको छ । तर, विश्वकपको कुनै पनि खेल स्थल र समयतालिका परिवर्तन हुनेछैन,’ आइसिसीको विज्ञप्तिमा भनिएको छ, ‘यदि बंगलादेशले भारत नजाने अन्तिम निर्णय गरेको छ भने हामी उसको सट्टा वरीयताका आधारमा स्कट्ल्यान्डलाई विश्वकपमा सहभागी गराउँछौँ ।’ 

युरोपियन छनोटबाट इटालीले पहिलोपटक विस्कपमा पुग्दा स्कट्ल्यान्ड बाहिरिएको थियो । आइसिसीको पछिल्लो वरीयतामा स्कट्ल्यान्ड १४औँ स्थानमा छ । स्कट्ल्यान्डभन्दा माथि रहेका राष्ट्रहरू विश्वकपमा छन् । यसैकारण वरीयताकै आधारमा स्कट्ल्यान्डले विश्वकप खेल्ने अवसर पाउन लागेको हो । 

भारत नजाने बंगलादेशको अडान
बंगलादेशले भने आफ्ना खेलाडी सुरक्षित नभएका कारण भारतमा विश्वकप नखेल्ने पूर्ववत् अडानलाई यथावत् राखेको छ । आइसिसीका पदाधिकारीसँगको छलफलमा उनीहरूले भारतमा कुनै पनि हालतमा आफूहरू नजाने बताएका थिए । श्रीलंका सहआयोजक भएकाले वैकल्पिक स्थल हुन सक्ने बिसिबीको भनाइ छ । बंगलादेश समूह ‘सी’मा छ । बंगलादेशले सुरुका तीनवटै खेल कोलकाताको इर्डन गार्डेन रंगशालामा छ । चौथो खेल मुम्बईको बाँखडे रंगशालामा छ । जहाँ बंगलादेश र नेपालबिच खेल हुने तालिका छ । ढाकामा भएको वार्तामा आइसिसीले बंगलादेशलाई भारतमा कुनै विशेष सुरक्षा खतरा नरहेको आश्वासन दिएको छ । तर, बंगलादेशले आइसिसी र भारतको सुरक्षा व्यवस्थाप्रति आफूहरू आश्वस्त हुन नसकेको बताएको छ । 

कोलकाताबाट सुरु भएको विवाद
बंगलादेशमा एक हिन्दुको हत्या भएपछि भारत र बंगलादेशबिच राजनीति टकराव भएको थियो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले तत्कालै इन्डियन प्रिमियर लिगका फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएको थियो । बिसिसिआईको निर्देशनपछि कोलकाताले रहमानलाई टोलीबाट हटायो । यसै सिजनमा कोलकाताले उनलाई नौ करोड भारुमा अनुबन्ध गरेको थियो । बंगलादेश सरकारले आइसिसी र बिसिसिआईसँग प्रतिशोध लिन आइपिएल प्रसारणमा प्रतिबन्ध लगायो । त्यसपछि बिसिबीले भारतमा विश्वकप नखेल्ने पत्र आइसिसीलाई पठाएको थियो । बंगलादेशले खेल स्थल परिवर्तन गर्नुपर्ने माग राखेको थियो ।

आइसिसीले सुरुमा बंगलादेश सहभागी नहुँदा दुई अंक काटिने चेतावनी दिएको थियो । तर, बंगलादेशले तटस्थ भूमिबाहेक अन्य स्थानमा विश्वकप नखेल्ने निर्णय यथावत् राख्दा विवाद चुलिएको हो । विवाद सल्टाउन नै आइसिसीले आफ्ना प्रमुख पदाधिकारीलाई ढाका पठाएको थियो । तर, वार्ता निष्कर्षविहीन हुँदा आइसिसीले अन्तिम विकल्पका रूपमा बुधबारसम्म बंगलादेशलाई निर्णय गर्न भनिएको हो । 

See More On

सुझावित समाचार