कसरी हुँदै छ निर्वाचन सुरक्षा व्यवस्थापन ?

तीन लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण
  • निर्वाचनस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण, सुरक्षाकर्मीको संख्या निर्धारण, निर्वाचन प्रहरीको छनोट तथा तालिम र तीनवटै सुरक्षा निकायबिच संयुक्त अभ्यासलगायतका काम अन्तिम चरणमा, कुल तीन लाख ३८ हजार सुरक्षाकर्मी खटाइने

आगामी २१ फागुनमा हुने निर्वाचनको सुरक्षाका लागि आवश्यक सबैजसो पूर्वतयारी पूरा भएका छन् । निर्वाचनस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण, सुरक्षाकर्मीको संख्या निर्धारण, निर्वाचन प्रहरीको छनोट तथा तालिम र तीनवटै सुरक्षा निकायबिच संयुक्त अभ्यासलगायतका काम अन्तिम चरणमा पुगेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा रहेको केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत उक्त योजनाअन्तर्गत निर्वाचनपूर्व, निर्वाचनका दौरान र निर्वाचनपश्चात् गरी तीन तहको सुरक्षा कार्यविधि तय गरिएको छ । तीमध्ये पहिलो तहको सुरक्षा तयारी लगभग पूरा भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि गत ३० कात्तिकमै एकीकृत निर्वाचन सुरक्षा योजना ०८२ स्वीकृत गरिसकेको थियो ।

गृहप्रवक्ता आनन्द काफ्लेले पहिलो तहको सुरक्षा कार्यविधि पूरा भएको बताए । ‘आसन्न निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना ०८२ अनुसार तीन तहको सुरक्षा कार्यविधि तय गरिएको छ । त्यसअन्तर्गत पहिलो तहको सुरक्षा तयारी लगभग पूरा भइसकेको छ,’ उनले भने । 

तीन लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
स्वीकृत सुरक्षा योजनाअनुसार निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर गरी कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी परिचालन गरिनेछ । यसअनुसार नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना खटाइने निर्णय भएको छ ।

गृह मन्त्रालयका अनुसार सुरक्षा कार्यविधि स्वीकृत भएपछि सबै निर्वाचनस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गरिएको थियो । सोही विश्लेषणका आधारमा कम्तीमा साढे तीन लाख सुरक्षाकर्मी आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो । तीनवटै सुरक्षा निकायबाट अधिकतम एक लाख ९० हजार सुरक्षाकर्मी मात्र उपलब्ध हुन सक्ने जानकारी आएपछि निर्वाचन प्रहरीको संख्या निर्धारण गरिएको हो । हाल निर्वाचन प्रहरीको छनोट प्रक्रिया जारी छ । उनीहरू ११ माघदेखि तालिममा सहभागी हुनेछन् ।

यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच संयुक्त तालिम, संयुक्त गस्ती, ड्रिलिङ र पेट्रोलिङ अभ्यास सञ्चालन भइरहेको छ । तालिममा भिभिआइपी तथा भिआइपी सुरक्षा, निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान र कारबाही, सम्भावित झडप नियन्त्रण, उम्मेदवार सुरक्षा, मतपेटिका सुरक्षालगायतका विषय समेटिएका छन् ।

नेपाल प्रहरीअन्तर्गत कार्य विभाग प्रमुख तथा केन्द्रीय निर्वाचन सेलका कमान्डर एआइजी उमाप्रसाद चतुर्वेदीले पनि निर्वाचनलक्षित सुरक्षा पूर्वतयारी अन्तिम चरणमा पुगेको बताए । ‘निर्वाचनपूर्व, निर्वाचनका दौरान र निर्वाचनपश्चात् गरी तीन तहको सुरक्षा योजना तयार गरिएको छ । पहिलो तहको तयारी पूरा भएको छ । संयुक्त तालिम, सुरक्षा विश्लेषण, निर्वाचन प्रहरीको संख्या निर्धारण र तालिमलगायतका काम लगभग सकिएका छन्,’ उनले भने । 

२१ माघदेखि सेना परिचालन
निर्वाचन आयोगले गत सातादेखि मतपत्र छपाइ सुरु गरिसकेको छ । छपाइ भएका मतपत्रको सुरक्षा तथा ढुवानीको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । यस प्रयोजनका लागि सेना आंशिक रूपमा परिचालन भइसकेको छ । जनक शिक्षाले छापिरहेको मतपत्र छपाइ तथा ढुवानीको सम्पूर्ण प्रक्रिया सेनाको निगरानीमा भइरहेको छ ।

सरकारले निर्वाचनभन्दा एक महिनाअघि नै सेना फिल्डमा खटाउने स्वीकृति दिइसकेको छ । त्यसअनुसार २१ माघदेखि सेना देखिने गरी फिल्डमा परिचालन हुनेछ । सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, ‘निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ सैनिक परिचालन गर्ने निर्णय भएको छ । केही सैनिक परिचालन भइसकेका छन् । बाँकी २१ माघदेखि फिल्डमा खटिनेछन् । आवश्यक तालिम सञ्चालन भइरहेको छ, जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पनि सहभागी छन् ।’

सुझावित समाचार