पत्रकार मनोज साहमाथि आक्रमण, पत्रकार महासंघ बाराको आपत्ति

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

स्पर्श खबर डटकमका पत्रकार मनोज साहमाथि हातपात तथा दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाराले गम्भीर ध्यानाकर्षण जनाउँदै निन्दा गरेको छ।

साहले माघ ४ गते निर्वाचनको समयमा नेता तथा कार्यकर्ताहरूले दल परिवर्तन गर्दै हिँड्ने प्रवृत्तिबारे सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए। उक्त सामग्रीप्रति असन्तुष्टि जनाउँदै माघ ५ गते बिहान मर्निङ वाकका लागि निस्किएका वेला जितपुरका स्थानीय कपुरराज पुरीसहित तीन–चारजनाको समूहले उनीमाथि आक्रमण गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ।

आक्रमणका क्रममा पत्रकार साहलाई कुटपिट गर्नुका साथै गालीगलौज र धम्कीसमेत दिइएको जनाइएको छ। आक्रमणबाट उनको टाउको र आँखामा चोट लागेको छ। उपचारका लागि तत्काल अस्पताल पुर्याइएका साहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।

नेपाल पत्रकार महासंघ बाराले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको उल्लेख गरिएको छ। महासंघले पत्रकारमाथि गरिएको आक्रमण कुनै पनि बहानामा स्वीकार्य नहुने स्पष्ट पारेको छ।

महासंघले घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषी पहिचान गरेर तत्काल कानुनी दायरामा ल्याउन तथा हदैसम्मको कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय र सरोकारवाला निकायसँग माग गरेको छ। साथै, पत्रकार साहको व्यक्तिगत सुरक्षाको सुनिश्चितता गर्न स्थानीय प्रशासनसँगसमेत आग्रह गरिएको छ।

यसैबिच, इलाका प्रहरी कार्यालय जितपुरले कपुरराज पुरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरामा बुझाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुरी पक्राउ परेको पुष्टि गरे।

प्रहरी नायब उपरीक्षक जोशीले प्रहरीले घटनाको विषयमा छानबिन सुरु गरेको बताए। उनले भने, ‘पत्रकार मनोजजी उपचारको क्रममा वीरगन्जमा हुनुहुन्छ, मुख्य आरोपी पक्राउ गरी हामीले घटनाको अनुसन्धान अगाडि बढाएका छौँ।’

सुझावित समाचार