कास्की क्लबले जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथ युथ क्लबलाई २७३ रनको विशाल अन्तरले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा चलिरहेको प्रतियोगिताको आइतबार भएको तेस्रो खेलमा कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । पोखरा क्रिकेट रंगशालामा पहिलो ब्याटिङ गरेको कास्कीले ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा लेखनाथ २७.४ ओभरमा ७६ रनमा अलआउट भयो ।
लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० तथा साहिल जैसवालले ९ रन बनाए । कास्कीको जितमा विश्वासले सर्वाधिक पाँच विकेट लिए । उनले आठ ओभरमा एक मेडनसहित १६ रन दिए । कास्कीको ब्याटिङमा सोहिल कुँवरले शतकीय इनिङ्स खेलेका थिए । उनले ९५ बलमा ११० रन बनाए ।
सहबुद्दिन अन्सारीले ३१ बलमा ५० रन बनाए । रोहित चन्दले पनि २८ बलमा ५० रनको योगदान दिएका थिए । लेखनाथका लागि सुवास बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । कृपेश पौडेलले दुई तथा सज्जन क्षेत्रीले एक विकेट लिए । जिल्लास्तरीय प्रतियोगिताबाट विजेताले प्रदेशस्तरीय एकदिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ । प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय प्रतियोगिताको जिल्ला छनोटसमेत रहेको छ ।