हजारौँ वर्षपहिले चीनमा एक चतुर र आत्मविश्वासी सेनापति थिए । एक दिन, लामो युद्ध अभियानको अन्त्यमा जनरलले सिपाहीहरूको सानो बटालियनको साथ एउटा गढमा रोकिने निर्णय गरे । साथमा उनले आफ्नो मुख्य सैन्य बललाई अन्यत्रै आराम गर्न पठाए ।
यसैबिच, उनका एक शत्रुले यसबारे सुइँको पाए । दंग पर्दै आफ्नो निकै ठुलो संख्याको सेनालाई शत्रु सेनापति बसेको गढतिर अघि बढ्ने आदेश दिए । मध्यरातमा, मस्त निदाइरहेका चिनियाँ जनरललाई उनका एक सहयोगी सिपाहीले ब्युँझाए । उनले सूचना दिए– दुस्मन सैनिक पूर्णतयारीका साथ नजिक आउँदै छन् । उज्यालो हुनुअघि उनीहरू यहाँ आइपुग्नेछन् । हाम्रो गढमा हामीसँग सिपाहीको संख्या निकै सानो छ ।
हामीले उनीहरूको सामना गर्न कठिन छ । यो समाचार सुनेर जनरल रोकिए, केही सोचे र आत्मविश्वाससाथ आदेश दिए– तिमी तल जाऊ, गढका सबै प्रवेशद्वार खोलिदेऊ र तिमीहरू दुस्मनको हात नआउने गरी लुक । सिपाहीले तत्काल जनरलको आदेश पूरा गरे । जनरलले पनि आफूसँग भएका सबै हरियार लुकाए । फौजी पोसाक लगाए । र, मेन्डोलिन बजाउन सुरु गरे । नभन्दै बिहानीपख शत्रु सेना पूर्णतयारीका साथ गढमा प्रवेश गरे । उनीहरूको अगाडि थिए चिनियाँ सेनापति ।
चिनियाँ सेनापतिलाई त्यति निस्फिक्रीसाथ मेन्डोलिन बजाइरहेको देखेपछि शत्रु सेनापतिले आफ्ना सिपाहीलाई तत्काल रोकिन आदेश दिए । उनले मनमनै सोचे– यति धूर्त चिनियाँ सेनापति यति ढुक्क देखिनुको पछाडि पक्कै पनि केही षड्यन्त्र छ । नत्र, आफ्ना शत्रुलाई यति नजिक आएको देखेर पनि कोही यति बेपर्वाह कसरी देखिन सक्छ ? यहाँ हामीले यिनीमाथि आक्रमण गर्यौँ भने हामी पक्कै पनि जिउँदो निस्कन सक्नेछैनौँ ।
शत्रु सेनापतिले त्यहाँबाट पछि हट्नुमै आफ्नो बुद्धिमानी देखे । उनले आफ्ना सिपाहीलाई पछि हट्ने आदेश दिए र त्यहाँबाट चुपचाप फर्किए । यो देखेपछि चिनियाँ सेनापति मुसुक्क मुस्कुराए ।